रामेछाप, चैत २५ । उमाकुण्ड गाउँपालिका–६, गुप्तेश्वरस्थित श्री कैलेश्वर माध्यमिक विद्यालयले आफ्नो पाँच दशक लामो शैक्षिक यात्रालाई स्मरणीय, गौरवपूर्ण र प्रेरणादायी रूपमा उत्सवका साथ मनाउँदै ५०औँ वार्षिकोत्सव तथा स्वर्ण जयन्ती समारोह सफलतापूर्वक सम्पन्न गरेको छ ।
उक्त समारोह केवल औपचारिक कार्यक्रममै सीमित नरही शिक्षा, अनुशासन, संस्कार र सामाजिक उत्तरदायित्वको सशक्त सन्देश प्रवाह गर्ने ऐतिहासिक अवसरका रूपमा सम्पन्न भएको विद्यालयले जनाएको छ ।
बिहान प्रभातफेरिबाट सुरु भएकाे कार्यक्रम पशुपतिनाथ मन्दिर तथा कैलेश्वर महादेव थानमा विधिपूर्वक पूजा–अर्चना गरी अगाडि बढाइएको थियाे । कार्यक्रममा विद्यालयको स्काउट ट्रुपसँगै सुनुवार र तामाङ समुदायका सांस्कृतिक झाँकी प्रस्तुत गरिएको थियो । यसले स्थानीय पहिचान, परम्परा र विविधताको सुन्दर समन्वयलाई उजागर गरेको थियो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चन्द्रबहादुर सुनुवारको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उमाकुण्ड गाउँपालिकाका अध्यक्ष शेरबहादुर सुनुवार प्रमुख अतिथि र उपाध्यक्ष सावित्री सुनुवार विशेष अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो । कार्यक्रममा पूर्व सहायक रथी राजेन्द्र सुनुवार, पूर्व ब्रिटिस आर्मी सर्जेन्ट भक्तमान सुनुवार, संस्थापक शिक्षक गंगाबहादुर सुनुवार, विभिन्न वडाध्यक्ष, शिक्षा अधिकृत, प्रधानाध्यापक, शिक्षाविद्, समाजसेवी, सञ्चारकर्मी, अभिभावक तथा विद्यार्थीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।
समारोहको औपचारिक उद्घाटन स्वर्ण जयन्ती स्तम्भको अनावरण, दीप प्रज्वलन तथा राष्ट्रिय झण्डा तोलनमार्फत गरिएको थियो । कैलेश्वर स्काउट ट्रुपद्वारा प्रस्तुत मार्चपासले विद्यार्थीहरूको अनुशासन, नेतृत्व क्षमता र राष्ट्रप्रेमको भावना स्पष्ट पारेको थियो ।
कार्यक्रममा विद्यालय स्थापनामा महत्वपूर्ण योगदान पुर्याउनुहुने संस्थापक स्वर्गीय सार्जन्ट जंगबहादुर सुनुवार, स्वर्गीय क्याप्टेन लालबहादुर सुनुवार तथा संस्थापक शिक्षक स्वर्गीय सार्जन्ट धनबहादुर सुनुवारको स्मृतिमा माल्यार्पण गर्दै उहाँहरूको योगदानको स्मरण गरिएको थियो ।
विद्यालयका प्रधानाध्यापक प्रदीपकुमार सुनुवारले स्वागत मन्तव्य राख्दै विद्यालयको समग्र प्रगति, शैक्षिक उपलब्धि तथा चुनौतीबारे विस्तृत जानकारी दिनुभएको थियो । उहाँले सीमित स्रोत–साधनका बाबजुद गुणस्तरीय शिक्षा प्रदान गर्न विद्यालयले निरन्तर प्रयास गरिरहेको बताउँदै भौतिक पूर्वाधार, प्रविधिमैत्री शिक्षण र दक्ष जनशक्ति व्यवस्थापनमा अझ सुधार आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो ।
समारोहको विशेष उपलब्धिका रूपमा विद्यालयले ३५ लाख ४० हजार ९ सय ८४ रुपैयाँको अक्षयकोष स्थापना गर्न सफल भएको घोषणा गरेको छ । उक्त कोषले विद्यालयको दीर्घकालीन शैक्षिक विकास, छात्रवृत्ति विस्तार तथा भौतिक पूर्वाधार सुदृढीकरणमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरिएको छ ।
अक्षयकोष स्थापनामा सहयोग पुर्याउने समाजसेवी तथा दाताहरूलाई सम्मानपत्र प्रदान गरिएको थियो । यसै अवसरमा पूर्व शिक्षक, पूर्व विद्यालय व्यवस्थापन समिति, शिक्षक–अभिभावक संघका अध्यक्ष तथा जीवित संस्थापक शिक्षक गंगाबहादुर सुनुवारलाई सम्मानपत्र र दोसल्ला अर्पण गरी सम्मान गरिएको थियो ।
कार्यक्रममा विद्यालयको ऐतिहासिक यात्रा, शैक्षिक उपलब्धि र भावी योजनाहरू समेटिएको स्मारिकाको विमोचन पनि गरिएको थियो । यसलाई विद्यालयको शैक्षिक इतिहासको महत्वपूर्ण दस्तावेजका रूपमा लिइएको छ ।
स्वर्ण जयन्तीको अवसरमा सदनस्तरीय सांस्कृतिक नृत्य प्रतियोगिता तथा चैत २२ र २३ गते पालिकास्तरीय शिक्षक–कर्मचारी मैत्रीपूर्ण भलिबल प्रतियोगिता समेत आयोजना गरिएको थियो । विजेता टोलीलाई नगद पुरस्कार, शिल्ड र मेडल प्रदान गरिएको विद्यालयले जनाएको छ ।
समारोहमा वक्ताहरूले विद्यालयले पाँच दशकमा शिक्षा क्षेत्रमा खेलेको ऐतिहासिक भूमिकाको प्रशंसा गर्दै आगामी दिनमा अझ गुणस्तरीय, समावेशी र प्रविधिमैत्री शिक्षामा जोड दिनुपर्ने धारणा राख्नुभएको थियो ।
पाँच दशकको गौरवपूर्ण इतिहास बोकेको श्री कैलेश्वर माध्यमिक विद्यालयले आगामी दिनमा अझ उच्च शैक्षिक उपलब्धि हासिल गर्दै समाज रूपान्तरणमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरिएको छ ।













प्रतिक्रिया दिनुहोस्