रामेछाप, चैत २५ । रामेछाप नगरपालिका–६ भालुखोमपमा एकदिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । गाउँमै स्वास्थ्य सेवा उपलब्ध गराइएकाले स्थानीयवासीले खुसी व्यक्त गर्नुभएको छ ।
वाग्मती प्रदेश सरकार स्वास्थ्य मन्त्रालय अन्तर्गत आयुर्वेद तथा वैकल्पिक चिकित्सालय, रामेछाप र रामेछाप नगरपालिकाको संयुक्त आयोजनामा सञ्चालन गरिएको शिविरमा स्वास्थ्य परीक्षण, परामर्श तथा निःशुल्क औषधि वितरण गरिएको थियो ।

चिकित्सालयका प्रमुख दीपक कार्कीका अनुसार शिविरमा १ सय ५० भन्दा बढी स्थानीयवासीले स्वास्थ्य सेवा लिनुभएको थियो । चिकित्सालयका डा. उत्तम गैरेको नेतृत्वमा खटिएको स्वास्थ्यकर्मीको टोलीले बिरामीहरूको स्वास्थ्य जाँच तथा उपचार सेवा प्रदान गरेको थियो ।
डा. गैरेका अनुसार उपचारका लागि आउनेमध्ये अधिकांश बिरामी घुँडा दुख्ने समस्याबाट पीडित हुनुहुन्थ्यो । यसबाहेक ग्यास्टिक, छाला सम्बन्धी समस्या तथा महिलाजन्य रोगका बिरामीहरू पनि उल्लेख्य रूपमा उपचारका लागि आउनुभएको उहाँले जानकारी दिनुभयो ।

साे शिविरसँगै रामेछाप नगरपालिकाको स्वास्थ्य शाखाको आयोजनामा महिलाहरूका लागि पाठेघरको मुखको परीक्षण तथा भिडियो एक्स–रे सेवा पनि उपलब्ध गराइएको थियो ।
नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख विष्णु कार्कीका अनुसार शिविरमा ५० जना महिलाले पाठेघरको मुखमा क्यान्सर भए–नभएको परीक्षण गराउनुभएको थियो भने ४४ जनाले भिडियो एक्स–रे सेवा लिनुभएको थियो ।

गाउँमै विशेषज्ञ स्वास्थ्य सेवा, परीक्षण र औषधि उपलब्ध गराइएकाले स्थानीयवासीले आयोजक निकायप्रति आभार व्यक्त गर्नुभएको छ । ग्रामीण क्षेत्रमा यस्ता शिविरले स्वास्थ्य सेवामा पहुँच विस्तार गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ ।













प्रतिक्रिया दिनुहोस्