जनता टाइम्स

१० बैशाख २०८३, बिहीबार २२:२१

आयुर्वेदिक सन्देश समुदायसम्म पुर्‍याउन रामेछापमा विद्यालय नर्सका लागि क्षमता अभिवृद्धि तालिम सुरु


रामेछाप, वैशाख १० । आयुर्वेद तथा वैकल्पिक चिकित्सालय रामेछापले जिल्लाका विद्यालय नर्स तथा आरोग्य केन्द्रका अभियानकर्ताहरूका लागि क्षमता अभिवृद्धि तालिम सुरु गरेको छ।

विद्यालय नर्स र अभियानकर्तामार्फत आयुर्वेदिक उपचार पद्धतिको महत्त्व, आहार, व्यवहार, योग, ध्यान तथा जीवनशैली व्यवस्थापनसम्बन्धी सन्देश समुदायसम्म पुर्‍याउने उद्देश्यले तालिम आयोजना गरिएको हो।

चिकित्सालय सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष नवराज पथिकको अध्यक्षतामा भएको कार्यक्रममा कार्यालयका निमित्त प्रमुख दीपककुमार कार्कीले तालिमको उद्देश्यबारे प्रकाश पार्नुभयो। उहाँका अनुसार चार दिनसम्म सञ्चालन हुने तालिमले विद्यालय तहबाटै योग, ध्यान, प्राणायाम तथा आयुर्वेदिक उपचार पद्धतिबारे समुदायमा प्रभावकारी सूचना प्रवाह हुने विश्वास लिइएको छ।

आहार र व्यवहारकै कारण धेरै रोगहरू उत्पन्न हुने उल्लेख गर्दै त्यसको सुधारका लागि सामूहिक प्रयास आवश्यक रहेको उहाँले बताउनुभयो। नागरिकको स्वास्थ्य सुरक्षा मुख्य लक्ष्यका रूपमा लिएर काम गर्नुपर्नेमा उहाँले जोड दिनुभयो।

कार्यक्रममा अध्यक्ष पथिकले तालिमले समाज रूपान्तरण र स्वास्थ्य प्रवर्द्धनमा सकारात्मक योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो। उहाँले सिकेका कुरालाई व्यवहारमा उतार्न सके मात्र तालिमको वास्तविक महत्त्व स्थापित हुने धारणा राख्नुभयो।

यसैगरी, जनस्वास्थ्य कार्यालय रामेछापका प्रमुख विभु झाले विद्यालय नर्सहरूको समुदायसँग प्रत्यक्ष सम्बन्ध रहने भएकाले उनीहरूमार्फत स्वास्थ्य सन्देश घरघरमा पुर्‍याउन सकिने बताउनुभयो। विद्यालय नर्सको क्षमता विकासले समग्र स्वास्थ्य क्षेत्रमा सुधार ल्याउने उहाँको विश्वास छ।

तालिममा चिकित्सालयका डा. उत्तम गैर, डा. अरुण टेर्रा लगायतले सहजीकरण गरिरहनुभएको छ। कार्यक्रममा जिल्लाका विभिन्न विद्यालयका नर्स तथा आरोग्य केन्द्रका अभियानकर्ता गरी २० जनाको सहभागिता रहेको छ।