जनता टाइम्स

११ बैशाख २०८३, शुक्रबार २०:५९

कुष्ठरोगीप्रति विभेद अन्त्य गर्न स्वास्थ्य मन्त्री किरण थापा आह्वान, गुणस्तरीय सेवामा सरकार प्रतिबद्ध


काठमाडौं, वैशाख ११। वाग्मती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापा मगरले कुष्ठरोगप्रति रहेको विभेद अन्त्य गर्दै समावेशी र मानवतामूलक समाज निर्माण गर्न सबैलाई आह्वान गर्नुभएको छ।

आनन्दवन कुष्ठरोग अस्पतालको निरीक्षण तथा उपचाररत बिरामीहरूसँग भेटघाटका क्रममा मन्त्री थापा मगरले बिरामीहरूको साहस, धैर्य र सकारात्मक सोचले आफूलाई गहिरो रूपमा प्रेरित गरेको बताउनुभयो। उहाँले रोगसँग संघर्ष गर्दै पनि आशा र आत्मबल कायम राख्ने बिरामीहरूको जुझारुपन समाजका लागि महत्वपूर्ण सन्देश भएको उल्लेख गर्नुभयो।

उहाँले कुष्ठरोग उपचारयोग्य रोग भएको तथ्यलाई व्यापक रूपमा फैलाउनुपर्ने आवश्यकता औंल्याउँदै विभेदरहित समाज निर्माण सबैको साझा जिम्मेवारी भएको बताउनुभयो।

मन्त्री थापा मगरले वाग्मती प्रदेश सरकार गुणस्तरीय, सुलभ र समावेशी स्वास्थ्य सेवा प्रदान गर्न सधैँ प्रतिबद्ध रहेको स्पष्ट पार्नुभयो। साथै, ‘मानवता नै सबैभन्दा ठूलो शक्ति हो’ भन्ने भावनाका साथ बिरामीहरूप्रति सहानुभूति र सहयोग गर्न सबैमा आग्रह गर्नुभएको छ।