जनता टाइम्स

१७ बैशाख २०८३, बिहीबार २०:२८

मन्थली नगरपालिकामा ९ महिनामा २१ प्रतिशत मात्रै विकास खर्च, योजना कार्यान्वयनमा ढिलाइ


रामेछाप, वैशाख १७। रामेछापको मन्थली नगरपालिकाले चालु आर्थिक वर्ष २०८२/८३ को ९ महिनामा एक चौथाइभन्दा कम मात्र विकास बजेट खर्च गरेकाे छ। नगरपालिकाले ९ महिनाको अवधिमा जम्मा २१.०७ प्रतिशत मात्रै पुँजीगत खर्च गरेको जानकारी दिएकाे छ ।

नगरपालिकाको वडा नं. ८ चिसापानीमा आयोजित सार्वजनिक सुनुवाइ कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत देवर्षि सापकोटाले  ठेक्का कार्यको भुक्तानी प्रक्रियामै रहेकाले पुँजीगत खर्च कमजोर देखिएको जानकारी दिनुभयाे। प्रमुख प्रशासकीय अधिकृत सापकोटाका अनुसार नगरपालिकाले १ अर्ब ४ करोड ६५ लाख ६४ हजार रुपैयाँ बजेट स्वीकृत गरेकोमा चालु खर्चतर्फ ५९.९६ प्रतिशत प्रगति भएको छ भने विकास खर्च न्यून रहेको छ।

यस आर्थिक वर्षमा सञ्चालन गरिने ६०० योजनामध्ये ५४४ वटा योजना उपभोक्ता समिति मार्फत सञ्चालन हुने बताइएको छ। तीमध्ये हालसम्म ३९८ वटा अर्थात् करिब ६७ प्रतिशत योजनाको मात्र सम्झौता सम्पन्न भएको जानकारी उहाँले दिनुभयो। आर्थिक वर्ष सकिन दुई महिना पनि बाँकी नरहँदा करिब ३३ प्रतिशत योजनाको सम्झौता हुन बाँकी रहनुले कार्यान्वयनमा चुनौती देखिएको छ।

यद्यपि प्रमुख प्रशासकीय अधिकृत सापकोटाले विभिन्न कारणले ढिलाइ भए पनि अब कामले गति लिने विश्वास व्यक्त गर्नुभयो। नगरपालिकाले हालसम्म १८७ वटा योजनाको भुक्तानी गरिसकेको र १२ वटा योजना भुक्तानीको चरणमा रहेको जानकारी दिनुभयो।

कार्यक्रममा नागरिकहरूले उठाएका प्रश्नको जवाफ नगर प्रमुख लब श्रेष्ठ, प्रमुख प्रशासकीय अधिकृत सापकोटा तथा सम्बन्धित वडाध्यक्षहरूले दिनुभएको थियो।

सो अवसरमा बोल्दै नगर प्रमुख श्रेष्ठले कामका क्रममा भएका कमजोरी सुधारका लागि नागरिकले औँल्याउनुपर्ने बताउँदै त्यसले सुधारका लागि सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो।