काठमाडौं, वैशाख २२ । नेपाली कांग्रेसले सुकुम्बासी व्यवस्थापनका नाममा सरकारले ‘डोजर आतंक’ मच्चाएको आरोप लगाउँदै तत्काल सुधार नगरे कडा प्रतिकार गर्ने चेतावनी दिएको छ। पार्टीको संसदीय समन्वय बोर्ड बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सरकारको कार्यशैलीप्रति तीव्र असन्तुष्टि जनाउनुभएको हो।
माननीय आङ्देम्बेले सुकुम्बासी बस्ती हटाउने नाममा राज्यले जनतालाई अत्यधिक दबाब र त्रासमा पारेको उल्लेख गर्दै यसले केही दुःखद घटनासमेत निम्त्याएको बताउनुभयो। उहाँले वास्तविक सुकुम्बासीको पहिचान र व्यवस्थापन नगरी हचुवाको भरमा डोजर चलाउँदा होल्डिङ सेन्टरहरूमा सुत्केरी, बालबालिका र ज्येष्ठ नागरिकको अवस्था अत्यन्त दयनीय बनेको बताउनुभयो।
“नदी किनार व्यवस्थित गर्ने कार्यमा हाम्रो समर्थन रहन्छ, तर सुकुम्बासी हटाउने नाममा भइरहेको व्यवहारले मानवीय संवेदना र कानुनी दुवै पक्ष उल्लंघन गरेको छ,” उहाँले भन्नुभयो, “यदि राज्यले आफ्नो व्यवहार नसच्याए सहयोगी हातहरू प्रतिकारमा उत्रिनेछन्, त्यसको जिम्मेवारी सरकारकै हुनेछ।”
उहाँले संवैधानिक परिषद्सम्बन्धी अध्यादेशमार्फत सरकारले संवैधानिक निकायहरूमा आफ्ना अनुकूलका व्यक्ति नियुक्ति गर्न खोजेको आरोप पनि दोहोर्याउनुभयो। संसदलाई छलेर अध्यादेशमार्फत शासन सञ्चालन गर्ने प्रयासले सरकारको ‘कुनियत’ प्रष्ट भएको उहाँको भनाइ थियो।
संसद अधिवेशनको मिति पटक–पटक सार्ने र एकाएक आह्वान गर्ने कार्यले जनभावनाको अपमान भएको टिप्पणी गर्दै उहाँले सरकारका निर्णयहरू जनविरोधी रहेको आरोप लगाउनुभयो।
कांग्रेसले यस विषयमा अन्य विपक्षी दलहरूसँग समन्वय गर्दै संसदमा सशक्त प्रतिवाद गर्ने रणनीति बनाएको जनाएको छ। मुद्दाका आधारमा विपक्षीहरू एक ठाउँमा उभिने प्रयास भइरहेको र संसदीय प्रक्रिया अन्तर्गत संशोधन प्रस्तावसहित सरकारलाई दबाब दिने तयारी रहेको पनि माननीय आङ्देम्बेले जानकारी दिनुभयो।
बैठकमा पार्टीका अघिल्ला निर्णयहरूको कार्यान्वयन, समसामयिक राजनीतिक परिस्थिति तथा आगामी संसदीय रणनीतिबारे विस्तृत छलफल भएको समेत जनाइएको छ।













प्रतिक्रिया दिनुहोस्