जनता टाइम्स

२३ बैशाख २०८३, बुधबार १५:०२

रामेछापका ज्येष्ठ नागरिकका लागि ‘स्वास्थ्य बुढ्यौली’ कार्यक्र : ज्येष्ठ नागरिकप्रति सम्मान र जीवनशैली सुधारकाे सन्देश 


रामेछाप, वैशाख २३ । बुढ्यौलीलाई रोग र निर्भरता होइन, स्वस्थ जीवनशैली र आत्मसम्मानको चरणका रूपमा कसरी रूपान्तरण गर्न सकिन्छ भन्ने सन्देशसहित रामेछापमा ज्येष्ठ नागरिक लक्षित ‘स्वास्थ्य बुढ्यौली’ कार्यक्रम आयाेजना गरिएकाे छ ।

जनस्वास्थ्य कार्यालय रामेछापको आयोजनामा र आयुर्वेद तथा वैकल्पिक चिकित्सालय रामेछापको समन्वयमा आयोजित उक्त कार्यक्रममा  मन्थली आसपासका ज्येष्ठ नागरिकहरूको सक्रिय सहभागिता रहेको थियो।

कार्यक्रमको अध्यक्षता चिकित्सालयका अध्यक्ष नवराज पथिकले गर्नुभएको थियो। उहाँले जीवन केवल बाँच्ने प्रक्रिया मात्र नभई निरन्तर सिकाइको यात्रा भएको उल्लेख गर्दै खानपान, सुताइ, बसाइ, हिँडाइदेखि श्वासप्रश्वाससम्मका हरेक अभ्यासलाई विधिसम्मत बनाउनुपर्नेमा जोड दिनुभयो। साे कुरा आयुर्वेदले सिकाउने उहाँले बताउनुभयाे ।

जनस्वास्थ्य कार्यालय रामेछापका प्रमुख विभुकुमार झाले कार्यक्रमको उद्देश्यबारे प्रकाश पार्दै ज्येष्ठ नागरिकको सम्मान र स्वास्थ्य प्रवर्द्धन नै कार्यक्रमको मूल लक्ष्य रहेको बताउनुभयो। उहाँले कार्यालयको तर्फबाट सरसफाइ सामग्रीसहितको ‘किड्स झोला’ पनि प्रदान गरिएको जानकारी दिनुभयो।

कार्यक्रममा चिकित्सालयका डाक्टर उत्तम गैरेले ज्येष्ठ नागरिकहरूलाई आहार, व्यवहार, योग र ध्यानको महत्वबारे विस्तृत जानकारी दिनुभएको थियो। उहाँले उमेरसँगै शरीरमा आउने परिवर्तनलाई सही जीवनशैलीमार्फत व्यवस्थापन गर्न सकिने बताउँदै नियमित अभ्यासको आवश्यकता औंल्याउनुभयो। उहाँले ज्येष्ठ नागरिकलाई  घर भित्रै बसेर गर्न सकिने केही ब्यायामका आसनहर पनि सिकाउनु भएकाे थियाे ।

त्यसैगरी ज्येष्ठ नागरिक संघ रामेछापका अध्यक्ष नारायणदास श्रेष्ठले यस्तो कार्यक्रमले ज्येष्ठ नागरिकलाई पुनः सामाजिक रूपमा सक्रिय बनाउने मात्र नभई मानसिक रूपमा पनि उत्साहित बनाउने प्रतिक्रिया दिनुभयो। उहाँले साथमा ज्येष्ठ नागरिककाे स्वास्थ्य परीक्षण र स्वास्थ्य किड्सले आफूहरुलाई थप उत्साहित बनाएकाे बताउनुभयो ।

कार्यक्रमका क्रममा ज्येष्ठ नागरिकहरूको रक्तचाप तथा मधुमेहलगायतका स्वास्थ्य परीक्षण गरिएको थियो। साथै आहार, योग र ध्यानलाई दैनिक जीवनमा कसरी अपनाउने भन्ने व्यवहारिक प्रशिक्षण पनि दिइएको थियो।

कार्यक्रम आयुर्वेद तथा वैकल्पिक चिकित्सालय रामेछापका प्रमुख दीपक कार्की लगायत स्वास्थ्यकर्मी, जनस्वास्थ्य कार्यालयका अधिकारी तथा ज्येष्ठ नागरिकहरूको सहभागिता रहेकाे थियाे ।  यस्ता कार्यक्रमले बुढ्यौलीलाई सम्मान, स्वास्थ्य र सक्रिय जीवनतर्फ उन्मुख गराउने विश्वास लिइएको छ।