जनता टाइम्स

२५ बैशाख २०८३, शुक्रबार ०८:३९

पूर्वमन्त्री सुदन किराती श्रम संस्कृति पार्टीमा, आज औपचारिक एकता घोषणा


काठमाडौं, वैशाख २५ । पूर्वमन्त्री सुदन किराती  श्रम संस्कृति पार्टीमा प्रवेश गर्नुहुने भएको छ ।

उहाँ र हर्क साम्पाङ नेतृत्वबिच भएको सहमतिअनुसार पार्टी एकताको औपचारिक घोषणा आज दिउँसो गरिने भएको छ । किरातीलाई श्रम संस्कृति पार्टीमा वरिष्ठ नेताको हैसियतसहित दोस्रो वरीयतामा उपाध्यक्षको जिम्मेवारी दिइने सहमति भएको छ । गएराति सम्पन्न छलफलमा किराती पक्षले एक उपाध्यक्ष, एक सचिव तथा १५ जना केन्द्रीय सदस्य पाउने समझदारी बनेको छ ।

किरातीसँगै आउने अधिकांश नेता तथा कार्यकर्ता प्रगतिशील लोकतान्त्रिक मोर्चा (प्रलोप) बाट हुनुहुन्छ ।

जेनजी आन्दोलनपछि नेकपा माओवादी केन्द्रका पुष्पकमल दाहाल प्रचण्डले  माधवकुमार नेपाल लगायतसँग पार्टी एकता गरेपछि त्यसप्रति असन्तुष्टि जनाउँदै किराती जनार्दन शर्मा सहित प्रलोपामा सक्रिय हुनुभएको थियो । पछि उहाँ प्रलोपाको अध्यक्ष परिषद्को जिम्मेवारीबाट बाहिरिएर हर्क साम्पाङसँग सघन संवादमा जुट्नुभएको थियो ।

भोजपुरबाट तीन पटक प्रतिनिधिसभा निर्वाचन जित्नुभएका किराती पूर्वपर्यटनमन्त्रीसमेत हुनुहुन्छ । श्रम संस्कृति पार्टीसँग उहाँको एकताले वैकल्पिक राजनीतिक ध्रुव निर्माणको बहसलाई थप चासोका साथ हेरिएको छ ।