काठमाडौं, बैशाख २५ । सर्वोच्च अदालतले पूर्वनिर्धारित समयभन्दा झण्डै दुई घण्टा ढिलो दैनिक पेशी सूची सार्वजनिक गरेको छ । शुक्रबार बिहान बसेको फूलकोर्टका कारण दैनिक पेशी सूची सार्वजनिक हुन ढिलाइ भएको हो ।
तर सर्वोच्च अदालतका प्रवक्ता अर्जुन कोइरालाले भने ‘प्राविधिक कारण’ले पेशी सूची सार्वजनिक हुन ढिला भएको जानकारी दिनुभयो । आजको पेशी सूचीमा वरिष्ठताको क्रममा पहिलो नम्बरमा रहे पनि प्रधानन्यायाधीश नियुक्ति सिफारिसमा नपरेपछि सपना प्रधान मल्ल इजलाशमा बसेको देखिँदैन । प्रधानन्यायाधीशमा सिफारिस भएका डा. मनोज कुमार शर्मा पनि आजको इजलासमा देखिनुभएको छैन ।
उहाँ फुलकोर्टको बैठकमा सहभागी भएर आफ्नो संक्षिप्त भनाइ राख्दै बाहिरिनु भएको थियो । ‘आज मैले गोला तान्न नभ्याउने भएँ’ भन्दै उहाँ बैठक कक्षबाट निस्किनुभएको हो ।
संवैधानिक परिषदको विहीबारको बैठकले बरिष्ठता क्रमको चौथो नम्बरमा रहेका शर्मालाई प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गरेको थियो ।
फूलकोर्ट बैठकमा न्यायाधीशहरुले संवैधानिक परिषदको सिफारिसबारे आफ्ना धारणा राखेका थिए । सर्वाेच्च स्रोतका अनुसार तीन जना न्यायाधीशबाहेक सबैजसोले परिषदको सिफासिरसले मुलुकको न्यायपालिकाको भलो नहुने र कालान्तरमा कार्यपालिकाको छायामा पर्ने भन्दै चिन्ता व्यक्त गरेका थिए ।
केही न्यायाधीशले भने तीन वर्ष पूरा गरेका न्यायाधीश प्रधानन्यायाधीशमा योग्य हुने संवैधानिक व्यवस्था रहेको र त्यस अनुसार भएको सिफारिसलाई अन्यथा भन्न नमिल्ने तर्क गरेका थिए ।













प्रतिक्रिया दिनुहोस्