काठमाडौं, वैशाख २६ । ज्येष्ठ नागरिकहरूको ज्ञान, अनुभव र जीवनदृष्टिलाई राज्य सञ्चालन तथा समाज रूपान्तरणमा उपयोग गर्नुपर्नेमा नेकपा (एमाले) का ईश्वर पोखरेलले जोड दिनुभएको छ।
मनमोहन स्मृति प्रतिष्ठान को आयोजनामा काठमाडौंमा सुरु भएको ‘ज्येष्ठ नागरिकको अवस्था, चुनौती र अन्तर–पुस्ता ज्ञान हस्तान्तरण’ विषयक दुई दिने अन्तर्राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उहाँले ज्येष्ठ नागरिकलाई केवल सामाजिक सुरक्षा र सम्मानको घेरामा सीमित गर्न नहुने बताउनुभयो।
सम्मेलनको उद्घाटन रामचन्द्र पौडेल ले गर्नुभएको थियो। कार्यक्रममा विभिन्न क्षेत्रका विज्ञ, सामाजिक अभियन्ता, नीति निर्माता तथा ज्येष्ठ नागरिकहरूको सहभागिता रहेको थियो।
नेता पोखरेलले ज्येष्ठ नागरिकहरू समाजका जीवित अनुभव भण्डार भएको उल्लेख गर्दै उनीहरूको सीप, अनुभव र विचारलाई राज्यका नीति निर्माण, समाज विकास र पारिवारिक समृद्धिमा उपयोग गर्नुपर्ने धारणा राख्नुभयो।
उहाँले नेपालमा सामाजिक सुरक्षा कार्यक्रमको सुरुवात गर्ने तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारी को योगदान स्मरण गर्दै उहाँले सुरु गरेको ज्येष्ठ नागरिक सम्मानको अवधारणाले अहिले संस्थागत रूप लिएको बताउनुभयो।
“ज्येष्ठ नागरिकलाई बोझका रूपमा होइन, अनुभव र मार्गदर्शनका स्रोतका रूपमा हेर्नुपर्छ,” उहाँले भन्नुभयो, “उहाँहरूको जीवन अनुभवलाई विकास र सुशासनको अभियानसँग जोड्न सकियो भने समाजले ठूलो लाभ लिन सक्छ।”
पोखरेलले २०५६ सालमा स्थापना भएको मनमोहन स्मृति प्रतिष्ठानले ज्येष्ठ नागरिक सम्मान, स्वास्थ्य शिविर, देश दर्शन, साहित्यिक गतिविधि तथा सामाजिक चेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको जानकारी दिनुभयो।
उहाँका अनुसार प्रतिष्ठानले युवा पुस्तालाई प्राविधिक शिक्षा र स्वरोजगारसँग जोड्ने उद्देश्यले मोरङमा मनमोहन प्राविधिक विश्वविद्यालय स्थापना गरी दीर्घकालीन सामाजिक योगदानसमेत दिइरहेको छ।
सम्मेलनमा ज्येष्ठ नागरिकको जीवनस्तर, सामाजिक सुरक्षा, स्वास्थ्य पहुँच, अन्तरपुस्ता सम्बन्ध र अनुभव हस्तान्तरणका विषयमा विभिन्न कार्यपत्र प्रस्तुत गरिने आयोजकले जनाएको छ।













प्रतिक्रिया दिनुहोस्