जनता टाइम्स

२७ बैशाख २०८३, आईतवार ०७:२०

सामाजिक सञ्जाल अभिव्यक्तिपछि आशिका तामाङलाई स्पष्टीकरण सोध्ने रास्वपाको तयारी


काठमाडौं, वैशाख  २७राष्ट्रिय स्वतन्त्र पार्टी ले आफ्नै सांसद आशिका तामाङ लाई स्पष्टीकरण सोध्ने तयारी गरेको छ।

पार्टीभित्रका विषयलाई लिएर सामाजिक सञ्जालमा सार्वजनिक रूपमा टिप्पणी गरेको भन्दै रास्वपाले तामाङसँग जवाफ माग्ने तयारी गरेको स्रोतले जनाएको छ।

रास्वपाका एक नेताका अनुसार पार्टीको आन्तरिक अनुशासन र सार्वजनिक अभिव्यक्तिसम्बन्धी विषयमा पछिल्लो समय तामाङले गरेका टिप्पणीबारे नेतृत्व गम्भीर बनेको छ। सामाजिक सञ्जालमार्फत पार्टी नेतृत्व, निर्णय प्रक्रिया तथा आन्तरिक गतिविधिबारे राखिएका अभिव्यक्तिलाई लिएर पार्टीभित्र छलफल सुरु भएको बताइएको छ।

रास्वपाले पछिल्लो समय सार्वजनिक अभिव्यक्तिमा अनुशासन कायम गर्न आफ्ना नेता तथा सांसदहरूलाई पटक–पटक सचेत गराउँदै आएको छ। पार्टीका नेताहरूले आन्तरिक असन्तुष्टि सार्वजनिक रूपमा व्यक्त गर्नुको सट्टा संस्थागत फोरममार्फत उठाउनुपर्ने धारणा राख्दै आएका छन्।

सांसद तामाङले भने पछिल्लो समय विभिन्न समसामयिक विषयमा सामाजिक सञ्जालमार्फत खुला धारणा राख्दै आएकी छन्। उनका कतिपय अभिव्यक्तिलाई लिएर पार्टीभित्र मतभेद देखिएको चर्चा चलिरहेको छ।

रास्वपाले औपचारिक रूपमा स्पष्टीकरण पत्र पठाउने वा अन्य निर्णय लिनेबारे भने अन्तिम निर्णय गरिसकेको छैन। तर नेतृत्व तहमा यस विषयमा आन्तरिक परामर्श भइरहेको जनाइएको छ।