जनता टाइम्स

२७ बैशाख २०८३, आईतवार ०७:२९

च्याट जीपीटीको स्क्रिनसटसहित उपसभामुखको दाबी – ‘प्रधानन्यायाधीश सिफारिस योग्यता र कार्यक्षमताका आधारमा’


काठमाडौं,  वैशाख २७  । उपसभामुख रुवि कुमारी ठाकुर ले प्रधानन्यायाधीश सिफारिस कार्यक्षमता र योग्यताका आधारमा गरिएको दाबी गर्नुभएको छ।

सामाजिक सञ्जाल फेसबुकमार्फत धारणा सार्वजनिक गर्दै उहाँले न्याय प्रणालीप्रति जनतामा लामो समयदेखि गुनासो रहँदै आएको उल्लेख गर्नुभयो। मुद्दा टुंगिन अत्यधिक ढिलाइ हुनु न्यायपालिकाका लागि गम्भीर चुनौती भएको उहाँको भनाइ छ।

उपसभामुख ठाकुरले प्रधानन्यायाधीश नियुक्ति राजनीतिक प्रभाव वा दलगत निकटताका आधारमा नभई कार्यक्षमता मूल्यांकनका आधारमा हुनुपर्ने बताउँदै यसपटकको सिफारिस पनि त्यही आधारमा गरिएको दाबी गर्नुभयो।

“प्रधानन्यायाधीश नियुक्ति कार्यक्षमता मूल्यांकनका आधारमा गरिएको छ, यसमा कुनै किन्तु–परन्तुको आवश्यकता छैन,” उहाँले फेसबुकमा लेख्नुभएको छ।

उहाँले राज्यका सबै अंग संविधान, कानुन र जनहितलाई केन्द्रमा राखेर सञ्चालन हुनुपर्ने उल्लेख गर्दै निष्पक्ष, सक्षम र जिम्मेवार न्याय प्रणाली नै लोकतन्त्रको आधार भएको धारणा व्यक्त गर्नुभयो।

उपसभामुख ठाकुरले आफ्नो धारणा नेपाली र मैथिली भाषामा सार्वजनिक गर्नुभएको थियो। सो पोस्टसँगै उहाँले OpenAI को ChatGPT को स्क्रिनसटसमेत राख्नुभएको छ।

प्रधानन्यायाधीश सिफारिसको विषय अहिले राजनीतिक तथा कानुनी वृत्तमा तीव्र बहसको विषय बनेको छ। संवैधानिक परिषद्ले वरिष्ठता क्रम मिचेर चौथो वरीयताका न्यायाधीशलाई सिफारिस गरेको भन्दै विपक्षी दल, कानुन व्यवसायी र पूर्वन्यायाधीशहरूले प्रश्न उठाइरहेका बेला उपसभामुख ठाकुरको अभिव्यक्ति सार्वजनिक भएको हो।