जनता टाइम्स

२८ बैशाख २०८३, सोमबार १०:००

डेढ घण्टापछि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट उडान सुरु


काठमाडौं, बैशाख २८ । टर्किस एयरलाइन्सको विमानको चक्कामा आगलागी भएपछि बन्द भएको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल डेढ घण्टा पछि सञ्चालनमा आएको छ ।

आज बिहान टर्कीको इस्तानबुलबाट आएको टिके ७२६ नम्बरको विमानको अवतरण गर्ने क्रममा चक्कामा एकाएक आगलागी भएपछि बिमानस्थल बन्द भएको थियो । विमानस्थलका निमित्त महाप्रबन्धक टेकनाथ सिटौलाका अनुसार आज बिहान ६ः४५ बजेदेखि बन्द भएको विमानस्थल करिब डेढ घण्टापछि सञ्चालनमा आएको छ ।

बिहान ८ः३० बजे एयर इन्डिया र ८ः३५ बजे फ्लाइ दुवई अवतरण गरिसकेका छन् भने केही विमानले उडान पनि भरिसकेका छन। विमानस्थल प्रहरीका अनुसार चक्कामा लागेको आगो दमकलको सहायतामा निभाइएको थियो । विमानलाई रनवेमै रोकेर आपतकालीनद्वारबाट यात्रुहरुको उद्धार गरिएको थियो ।

विमानमा २ सय ७३ यात्रु र ११ जना चालक दलका सदस्य रहेका थिए ।