जनता टाइम्स

२९ बैशाख २०८३, मंगलवार १५:४८

संख्याको दम्भमा विधि मिच्ने काम नहोस् : प्रचण्ड


काठमाडौं, वैशाख २९ । पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारलाई संख्याको बलमा विधि मिच्ने काम नगर्न गम्भीर आग्रह गर्नुभएको छ।

मंगलबार प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै उहाँले जनताले दिएको विश्वासलाई लोकतान्त्रिक मूल्य र विधि बलियो बनाउने दिशामा उपयोग गर्नुपर्नेमा जोड दिनुभयो।

“मेरो आग्रह छ, संख्याको दम्भमा विधि मिच्ने काम नहोस्। तपाईंहरूलाई जनताले यतिबेला विश्वास गरेका छन्। त्यो विश्वास विधि बलियो बनाउनेतर्फ लागोस्,” उहाँले भन्नुभयो।

उहाँले आफैंले स्थापना गरेको संसद् नै स्थगित गरेर जनप्रतिनिधिलाई छलेर अध्यादेशमार्फत शासन चलाउने प्रयास लोकतन्त्रको भावना विपरीत हुने टिप्पणी गर्नुभयो।

“आफैंले बनाएको संसद् स्थगित गरेर जनप्रतिनिधिलाई छलेर एकपछि अर्को अध्यादेशमार्फत शासन चलाउन खोज्नु लोकतन्त्रको भावना विपरीत छ भन्ने कुरा हामी सबैले महसुस गर्नैपर्छ,” उहाँले उल्लेख गर्नुभयो।

त्यस्तै, उहाँले सरकारविरुद्ध आलोचना गर्नेहरूमाथि धरपकड र पक्राउको शैली बढ्दै गएकोप्रति चिन्ता व्यक्त गर्दै यस्तो प्रवृत्ति लोकतान्त्रिक पद्धतिका लागि स्वीकार्य नहुने बताउनुभयो।

“जसरी प्रतिशोधको गन्ध आउनेगरी धरपकड सुरु गर्नुभयो, सरकारको आलोचना गर्नेलाई थुन्ने काम गर्नुभयो, यो लोकतान्त्रिक पद्धति र प्रणालीका लागि स्वीकार्य हुन सक्दैन,” प्रचण्डले भन्नुभयो।

उहाँको भनाइअनुसार लोकतन्त्र बलियो बनाउन सरकार र सबै राजनीतिक पक्षले संयम, विधि र संस्थागत प्रक्रियालाई प्राथमिकतामा राख्नुपर्ने आवश्यकता छ।