काठमाडौ, वैशाख ३० । प्रधानमन्त्री बालेन्द्र शाह प्रतिनिधिसभा बैठकमा अनुपस्थित भएपछि संसद् तनावग्रस्त बनेको छ । विपक्षी दलहरूले तीव्र विरोध जनाएपछि आजकाे प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित गरिएको हो ।
सभामुख डीपी अर्याल ले सदनमा अवरोध कायम रहेपछि बैठक स्थगित गरिएको जानकारी गराउनुभयो । त्यस अघि सभामुख अर्यालले नै सांसदहरुसँग लामै प्रतिवाद गर्नु भएकाे थियाे ।
सरकारको नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ प्रधानमन्त्री स्वयंले दिनुपर्ने माग गर्दै विपक्षी दलहरूले संसद् अवरुद्ध गरेका थिए । प्रधानमन्त्री अनुपस्थित भएपछि विपक्षी सांसदहरूले सरकार संसद्प्रति गैरजिम्मेवार बनेको बताउँदै विराेध जनाउनु भएकाे थियाे ।
बैठकमा नेकपा एमाले का सचेतक ऐन महर ले सरकारले पटक–पटक संसद्को गरिमा घटाउने काम गरेको बताउनुभयाे । ‘सदनलाई कुनै जानकारी नगराई एक्कासी अर्को मन्त्रीमार्फत टेबल गर्ने प्रयास भयो, यो संसद् नियमावली, संविधान र संसदीय अभ्यास सबैको बर्खिलापमा छ,’ उहाँले भन्नुभयो ।
उहाँले संविधानको धारा ७६ को उपधारा १० मा प्रधानमन्त्री र मन्त्री संघीय संसद्प्रति उत्तरदायी हुने स्पष्ट व्यवस्था रहेको उल्लेख गर्दै प्रधानमन्त्रीको अनुपस्थितिमाथि प्रश्न उठाउनुभयो ।
यस्तै, सांसद गुरु बरालले पनि प्रधानमन्त्रीको अवस्थाबारे सदनलाई स्पष्ट जानकारी गराउन माग गर्नुभयो । ‘प्रधानमन्त्री यहाँ आउन केले रोक्यो ? उहाँ कहाँ हुनुहुन्छ ? सदनले थाहा पाउनुपर्यो, यदि आउन नसक्ने उचित कारण छ भने अरू मन्त्रीले जवाफ दिन सक्छन्, तर प्रतिपक्षको भावनालाई सम्बोधन नै गरिएको छैन,’ उहाँले भन्नुभयो ।
नेकपाका प्रमुख सचेतक युवराज दुलालले संसदमा प्रधानमन्त्रीको आवाज सुन्न पाउनुपर्ने माग गर्नुभयाे। उहाँले संसद् नियमावलीको धारा ३८ लाई आधार बनाएर प्रधानमन्त्री निरन्तर संसदमा अनुपस्थित रहने अवस्था स्वीकार्य नहुने बताउनुभयाे । ‘के पाँच वर्षसम्म नियमावलीको धारा ३८ देखाएर प्रधानमन्त्रीको एउटा पनि आवाज संसद्मा सुन्न नपाउने हो ?’, उहाँले भन्नुभयाे ।
यसअघि प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री अनुपस्थित भएपछि हर्क साम्पाङ समेत असन्तुष्ट हुँदै बैठकबाट बाहिरिनुभएको थियो ।
प्रधानमन्त्रीले नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ नदिएको भन्दै उहाँले संसदमा नै ‘असक्षम प्रधानमन्त्री राजीनामा दे’ भन्दै नाराबाजी गर्नुभएको थियो । केहीबेर विरोध जनाएपछि उहाँ झोला बोकेर बैठक कक्षबाट बाहिरिनुभएको थियो ।
उता सत्तापक्षले भने प्रधानमन्त्री स्वयं उपस्थित हुनुपर्ने कानुनी बाध्यता नरहेको जिकिर गरेको छ । रास्वपाका प्रमुख सचेतक कविन्द्र बुर्लाकोटी ले प्रतिनिधिसभा नियमावलीको धारा ३८ को उपधारा ३ अनुसार प्रधानमन्त्री उपस्थित हुन नसकेमा अर्को मन्त्रीलाई प्रतिनिधित्वको जिम्मेवारी दिन सक्ने व्यवस्था रहेको बताउनुभयो ।
‘आज प्रधानमन्त्रीले अर्थमन्त्रीलाई आफ्नो तर्फबाट प्रतिनिधि तोक्नुभएको जानकारी आएको छ । त्यसैले सदनको कारबाही अगाडि बढाउनुपर्छ,’ उहाँले भन्नुभयो ।
स्थगित भएकाे बैठक सुरु हुन सकेकाे छैन ।













प्रतिक्रिया दिनुहोस्