जनता टाइम्स

३० बैशाख २०८३, बुधबार १८:०३

अघि बढेन नीति-कार्यक्रममाथिको छलफल, प्रधानमन्त्री बालेनका कारण भयो स्थगित


काठमाडौं, बैशाख ३० । प्रतिनिधि सभाको बैठक भोलिसम्मका लागि स्थगित भएको छ। आजको बैठकमा विपक्षी दलका सांसदहरूले प्रधानमन्त्री बालेन शाह उपस्थित हुनुपर्ने अडान राखेको र प्रधानमन्त्री बालेन कुनै हालतमा नआउने अडानमा बसेको कारण बैठक नै स्थगित भएको हो ।

प्रधानमन्त्री आउनु पर्ने बिपक्षी दलका सांसदको बटमलाइन र नआउने प्रधानमन्त्री बालेनको हठका कारण पटक पटक सभामुख डोलप्रसाद अर्यालले बैठक स्थगित गर्दै सञ्चालन गर्दै आए पनि छलफल अघि बढन सकेन ।

अपराह्न बसेको बैठकमा पनि विपक्षी दलले विरोध कायमै राखेपछि भोलिसम्मका लागि बैठक स्थगित भएको छ। सभामुख अर्यालले बिहीबार बिहान ११ बजे बस्ने गरी बैठक स्थगित गर्नुभएको छ ।

नीति तथा कार्यक्रममाथि सांसदहरूले राखेका प्रश्नमा प्रधानमन्त्रीले जबाफ दिने कार्यसूची भए पनि प्रधानमन्त्रीले आफ्नो प्रतिनिधिका रूपमा अर्थमन्त्री स्वर्णिम वाग्लेलाई बोल्न पठाएको जानकारी सभामुख अर्यालले बैठकमा दिनुभएको थियो । प्रधानमन्त्रीको सो शैलीको बिपक्षी दलका सांसदहरूले कडा रुपमा प्रतिवाद गर्दै बैठक अवरुद्ध गरेका हुन ।

प्रधानमन्त्रीले अर्थमन्त्रीलाई वारेस पठाएको भन्दै आक्रोशित बिपक्षी दलका सांसदहरुले प्रधानमन्त्री नै उपस्थित हुनुपर्ने भन्दै लगातार अवरोध गरेका थिए भने सत्तारूढ रास्वपाले प्रधानमन्त्री आउनैपर्छ भन्ने नरहेको तर्क गरेको थियो। रास्वपाको तर्कमा बिपक्षी सहमत नभएपछि बैठक नै स्थगित गर्नुपरेको हो ।

आजको बैठकमा बिपक्षीको अवरोधबीच सभामुखले नीति तथा कार्यक्रममाथि छलफल गरियोस भन्ने प्रस्ताव भने टेबुल गर्नुभएको छ ।