जनता टाइम्स

७ असार २०८३, आईतवार ०९:२५

गगन थापाद्वारा रास्वपा र रवि लामिछानेलाई महाधिवेशनको शुभकामना


काठमाडौं, असार ७ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र पार्टी सभापति रवि लामिछानेलाई पहिलो राष्ट्रिय महाधिवेशनको अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ।

महामन्त्री थापाले सामाजिक सञ्जाल फेसबुकमार्फत शुभकामना सन्देश जारी गर्दै छोटो समयमै रास्वपाले उल्लेखनीय जनसमर्थन हासिल गर्दै राष्ट्रिय राजनीतिमा आफ्नो उपस्थिति बलियो बनाएको उल्लेख गर्नुभएको छ।

उहाँले सभापति लामिछानेको नेतृत्वमा संगठन निर्माणदेखि निर्वाचनसम्मको यात्रा प्रशंसनीय रहेको बताउनुभएको छ।

महामन्त्री थापाले रास्वपाको पहिलो महाधिवेशन विचार, संगठन र नीतिका दृष्टिले अझ परिपक्व, जिम्मेवार र दूरदर्शी दृष्टिकोण निर्माण गर्ने महत्वपूर्ण अवसर हुने विश्वास व्यक्त गर्नुभएको छ।

साथै, उहाँले महाधिवेशनले लोकतान्त्रिक मूल्य र अभ्यासलाई आत्मसात् गर्दै संविधानप्रदत्त नागरिक अधिकारको संरक्षणमा पार्टीलाई वैचारिक रूपमा स्पष्ट, जवाफदेही र थप उत्तरदायी बनाउन ऊर्जा प्रदान गर्ने अपेक्षा व्यक्त गर्नुभएको छ।

रास्वपाको पहिलो राष्ट्रिय महाधिवेशन आजदेखि चितवनको भरतपुरमा सुरु भएको छ।