काठमाडौं, असार ७ । राष्ट्रपति रामचन्द्र पौडेलले योगलाई जीवनशैलीका रूपमा अपनाउन सबैमा आग्रह गर्नुभएको छ।
१२औँ विश्व योग दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै उहाँले योग शरीर, मन र आत्मालाई एकसाथ जोड्ने समग्र अभ्यास भएकाले यसलाई वैज्ञानिक जीवनशैली र जीवनपद्धतिको रूपमा ग्रहण गर्नुपर्नेमा जोड दिनुभएको हो।
राष्ट्रपति पौडेलले योग, ध्यान र साधनाले शरीर, मन तथा आत्मालाई सन्तुलनमा राख्न, तनाव कम गर्न र सकारात्मक ऊर्जा प्राप्त गर्न महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गर्नुभएको छ।
उहाँले योगमा ध्यान, प्राणायाम र शारीरिक आसनहरूको संयोजन रहने भन्दै आधुनिक जीवनशैलीका कारण बढ्दो तनाव, प्रदूषण र प्रतिस्पर्धाबाट प्रभावित मानव जीवनलाई सहज, सरल र स्वस्थ बनाउन योग उपयोगी माध्यम भएको बताउनुभएको छ।
शुभकामना सन्देशमा योगसम्बन्धी अध्ययन, अनुसन्धान तथा ऐतिहासिक र पुरातात्त्विक तथ्यहरूले नेपाललाई योगभूमिका रूपमा स्थापित गरेको उल्लेख गर्दै उहाँले योग हजारौँ वर्ष पुरानो पूर्वीय ज्ञान, संस्कृति र सभ्यताको अभिन्न अंश भएको धारणा व्यक्त गर्नुभएको छ।
राष्ट्रपति पौडेलले विश्वव्यापी रूपमा एकता, शान्ति र स्वास्थ्यको सन्देश फैलाउने योगलाई दैनिक जीवनमा अपनाएर स्वस्थ समाज निर्माणमा योगदान पुर्याउन सबैलाई आग्रह गर्नुभएको छ।













प्रतिक्रिया दिनुहोस्