काठमाडौं, असार ८ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन निर्धारित समयभन्दा लम्बिन सक्ने संकेत देखिएको छ। बन्द सत्र सुरु हुन ढिलाइ भइरहेका बेला पार्टीका प्रवक्ता मनिष झाले महाधिवेशन एक दिनसम्म थपिन सक्ने सम्भावनाका लागि पार्टी तयार रहेको बताउनुभएको छ।
सञ्चारकर्मीसँग कुराकानी गर्दै उहाँले विभिन्न कारणले कार्यक्रम प्रभावित हुन सक्ने विषयमा यसअघि बसेको केन्द्रीय समिति बैठकमा समेत छलफल भएको जानकारी दिनुभयो। बन्द सत्र ढिलो हुनु अस्वाभाविक नभएको उल्लेख गर्दै उहाँले यसलाई स्वाभाविक रूपमा लिइएको बताउनुभयो।
प्रवक्ता झाले महाधिवेशन प्रतिनिधिको संख्या पनि बढेको जानकारी दिनुभयो। उहाँका अनुसार सोमबार बिहानसम्म करिब ४ हजार ३ सय प्रतिनिधि दर्ता भइसकेका छन्। यद्यपि मधेश प्रदेशका केही प्रतिनिधि छुटेकाले उहाँहरूलाई समावेश गर्ने गरी आवश्यक गृहकार्य भइरहेको उहाँले बताउनुभयो।
‘बन्द सत्र सुरु हुन्छ, तर केही विलम्ब भएको छ। हामीले हिजोको सूचीअनुसार दर्ता प्रक्रिया अघि बढाएका छौँ। छुटेका प्रतिनिधिलाई पनि समेट्ने गरी अर्को टोलीले काम गरिरहेको छ,’ उहाँले भन्नुभयो।
चितवनको भरतपुरमा जारी रास्वपाको प्रथम महाधिवेशनमा नेतृत्व चयन, संगठन विस्तार तथा भावी राजनीतिक कार्यदिशाबारे महत्वपूर्ण छलफल र निर्णय हुने अपेक्षा गरिएको छ। प्रतिनिधिको संख्या बढ्दै जाँदा महाधिवेशनको अवधि पनि केही लम्बिन सक्ने देखिएको छ।













प्रतिक्रिया दिनुहोस्