जनता टाइम्स

८ असार २०८३, सोमबार २१:२६

प्रतिनिधिलाई ९ घण्टा पर्खाएपछि रास्वपाको बन्दसत्र आजका लागि स्थगित


काठमाडौं, असार  ८  ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को बन्दसत्र आजका लागि स्थगित भएको छ । महाधिवेशन प्रतिनिधिमा थपघट र मधेश प्रदेशमा देखिएको विवादका कारण बन्दसत्र शुरू हुन नसकेको हो ।

आज बिहान साढे ८ बजेका लागि तोकिएको बन्दसत्र ९ घण्टापछि भोलिसम्मका लागि स्थगित भएको हो । आजका लागि बन्दसत्रका कार्यक्रम स्थगित गरेर विवादका विषयहरू टुङ्गो लगाउनेगरी तयारी गरेको रास्वपाले जनाएको छ ।बन्दसत्रमा सहभागी हुन बिहानैदेखि महाधिवेशन प्रतिनिधिहरू पुगेका थिए । उनीहरू दिनभर कुरेर बसे पनि अन्तिम समयमा बन्दसत्र स्थगित भएको हो ।

पार्टीको केन्द्रीय निर्वाचन आयोगले हिजो ४ हजार २११ जना प्रतिनिधिको नामावली प्रकाशन गरेको थियो । यस्तै आज सञ्चारकर्मीसँग कुरा गर्दै पार्टीका प्रवक्ता मनिष झाले मधेश प्रदेशबाट ९६ जना प्रतिनिधि छुटेकालगायत विवाद मिलाउन बाँकी रहेको बताउनुभएको थियो ।हिजो उद्घाटन भई भोलिसम्ममा नयाँ नेतृत्व चयन गरेर सकिने भनिएको महाधिवेशन कम्तीमा एक दिन थपिने निश्चित भएको छ । तर बन्दसत्रका कार्यक्रम आज नभएपछि महाधिवेशन स्वतः एक दिन लम्बिएको छ ।