जनता टाइम्स

९ असार २०८३, मंगलवार २०:३०

गुटउपगुटमा नलाग्न सभापति लामिछानेको निर्देशन, रास्वपा महाधिवेशनमा एकता र ‘विवेक’को आह्वान


चितवन,  असार ९ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले पार्टीभित्र कुनै पनि प्रकारका गुटउपगुटमा नलाग्न पार्टी नेतृत्व र प्रतिनिधिहरूलाई निर्देशन दिनुभएको छ।

रास्वपाको प्रथम महाधिवेशनअन्तर्गत चितवनमा आयोजित बन्दसत्रलाई सम्बोधन गर्दै सभापति लामिछानेले गुटबन्दीले पार्टीलाई कमजोर बनाउने भन्दै त्यसबाट जोगिन सबैलाई आग्रह गर्नुभयो। उहाँले फरक परिणाम ल्याउनका लागि पुराना राजनीतिक संस्कारभन्दा भिन्न अभ्यास आवश्यक रहेको उल्लेख गर्नुभयो।

उहाँले प्रतिनिधिहरूलाई आफ्नो विवेक प्रयोग गरेर नेतृत्व चयन गर्न आग्रह गर्दै रास्वपा ‘ह्विप’ भन्दा ‘विवेक’को आधारमा चल्ने पार्टी भएको बताउनुभयो। लामिछानेले मतदाताले दिएको जनादेशलाई स्मरण गर्दै नेतृत्व चयनमा पनि सोही स्तरको जिम्मेवारी र विवेक आवश्यक रहेको धारणा राख्नुभयो।

सभापति लामिछानेले महाधिवेशन प्रतिनिधिहरूले तिरेको शुल्क आवश्यक परे फिर्ता लिन सकिने व्यवस्था रहेको उल्लेख गर्दै आर्थिक बोझमा परेका प्रतिनिधिलाई सहयोग गर्न सक्नेहरूलाई समेत आग्रह गर्नुभयो।

उहाँले पार्टीभित्र हुने असहमति र मतभेदलाई बाहिर नल्याई आन्तरिक छलफलमार्फत समाधान गर्नुपर्नेमा जोड दिनुभयो। साथै, गुटगत गतिविधिले संगठनात्मक लक्ष्य कमजोर हुने भन्दै त्यसलाई रोक्न सबैलाई सचेत गराउनुभयो।

नेतृत्व चयन प्रक्रियामा कुनै पनि योग्य व्यक्तिलाई उम्मेदवारीबाट वञ्चित नगरिने स्पष्ट पार्दै उहाँले सबैले स्वतन्त्र रूपमा प्रतिस्पर्धा गर्न पाउने बताउनुभयो।

बन्दसत्र उद्घाटनपछि महाधिवेशनका औपचारिक कार्यक्रम अघि बढाइएको र आजै बन्दसत्र सम्पन्न गरेर निर्वाचन प्रक्रिया सुरु गर्ने तयारी रहेको पार्टी स्रोतले जनाएको छ।