जनता टाइम्स

१० असार २०८३, बुधबार १२:५४

महाधिवेशन लम्बिँदा रास्वपाको खर्च बढ्यो, भोजनमै दैनिक ५० लाख थपिने


भरतपुर, असार १० । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशन निर्धारित समयभन्दा लम्बिँदा व्यवस्थापन खर्च उल्लेख्य रूपमा बढ्ने भएको छ। महाधिवेशन एक दिन थपिँदा भोजन र खाजामा मात्रै दैनिक कम्तीमा ५० लाख रुपैयाँ अतिरिक्त खर्च हुने देखिएको छ।

महाधिवेशन उद्घाटनदेखि बन्दसत्रसम्मका कार्यक्रम निर्धारित कार्यतालिकाअनुसार अघि बढ्न नसक्दा मंगलबार सकिनुपर्ने महाधिवेशन अझै लम्बिएको हो। यससँगै प्रतिनिधि, अतिथि तथा सुरक्षाकर्मीका लागि थप भोजन व्यवस्थापन गर्नुपर्ने अवस्था सिर्जना भएको छ।

आवास तथा भोजन व्यवस्थापन समितिका संयोजक राजन गौतमका अनुसार सोमबार र मंगलबार दैनिक करिब ६ हजार जनाका लागि बिहानको खाजा तथा दुई छाक खानाको व्यवस्था गरिएको थियो। महाधिवेशन लम्बिएपछि थप दिनका लागि पनि क्याटरिङ सेवासँग नयाँ सम्झौता गरिएको उहाँले जानकारी दिनुभयो।

उहाँका अनुसार प्रतिनिधि, अतिथि र सुरक्षाकर्मीसहित दैनिक करिब ६ हजार जनाले भोजन तथा खाजा उपभोग गरिरहेका छन्। महाधिवेशनको अवधि बढेसँगै भोजन व्यवस्थापनमै दैनिक कम्तीमा ५० लाख रुपैयाँ थप खर्च हुने अनुमान गरिएको छ।

महाधिवेशन लम्बिँदा खर्च व्यवस्थापन चुनौतीपूर्ण बनेको भन्दै केही प्रतिनिधिले असन्तुष्टि जनाएका थिए। त्यसपछि सभापति रवि लामिछानेले प्रतिनिधि दर्ता शुल्कलाई ऐच्छिक बनाउने घोषणा गर्नुभएको थियो।

रास्वपाले प्रतिनिधिबाट पाँच हजार रुपैयाँ दर्ता शुल्क लिने व्यवस्था गरेको भए पनि आर्थिक भार कम गर्न शुल्क बुझाउने विषयलाई स्वेच्छिक बनाइएको जनाएको छ। पार्टी नेतृत्वले यसबाट आर्थिक कठिनाइमा रहेका प्रतिनिधिलाई केही राहत पुग्ने विश्वास व्यक्त गरेको छ।