जनता टाइम्स

१० असार २०८३, बुधबार २१:१७

उमाकुण्ड गाउँपालिकाद्वारा ६३ करोड ५१ लाख रुपैयाँको बजेट सार्वजनिक, शिक्षा–स्वास्थ्य र पर्यटनसम्मलाई उच्च प्राथमिकता


रामेछाप, असार १० । उमाकुण्ड गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ६३ करोड ५१ लाख ९६ हजार रुपैँयाको बजेट सार्वजनिक गरेको छ। गाउँपालिकाले शिक्षा, स्वास्थ्य, कृषि, पशुपालन, पर्यटन, उद्यमशीलता र सामाजिक तथा आर्थिक समानतालाई प्राथमिकतामा राख्दै आगामी वर्षको बजेट तथा कार्यक्रम अघि सारेको हो।

बुधबार सम्पन्न गाउँसभाको २० औँ अधिवेशनमा गाउँपालिका उपाध्यक्ष सावित्री सुनुवारले बजेट तथा कार्यक्रम प्रस्तुत गर्दै शिक्षा, स्वास्थ्य, कृषि तथा पशुपालन, घरेलु तथा लघु उद्यम विकास, पर्यटन प्रवर्द्धन, सामाजिक तथा आर्थिक समानता कायम गर्ने तथा गाउँपालिकालाई बालमैत्री स्थानीय तहका रूपमा प्रभावकारी रूपमा कार्यान्वयन गर्ने लक्ष्यसहित बजेट विनियोजन गरिएको जानकारी दिनुभयो।

गाउँपालिका अध्यक्ष शेरबहादुर सुनुवारले प्रस्तुत गर्नुभएको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा गुणस्तरीय शिक्षा, सहज स्वास्थ्य सेवा, कृषि आधुनिकीकरण, युवा उद्यमशीलता विकास, पूर्वाधार निर्माण तथा पर्यटन प्रवर्द्धनलाई मुख्य प्राथमिकतामा राखिएको छ। स्थानीय स्रोत–साधनको अधिकतम उपयोग गर्दै रोजगारी सिर्जना, उत्पादन वृद्धि र सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने लक्ष्य नीति तथा कार्यक्रममा समेटिएको उहाँले बताउनुभयो।

नीति तथा कार्यक्रमअनुसार गाउँपालिकामा खेलकुद क्षेत्रको विकासका लागि आधुनिक कभर्डहल निर्माण गरिनेछ। साथै, उदयमान खेलाडीलाई सम्मान गर्ने तथा युवालाई खेलकुदतर्फ आकर्षित गर्न विभिन्न कार्यक्रम सञ्चालन गरिने जनाइएको छ।

शिक्षा क्षेत्रतर्फ व्यवहारिक तथा जीवनोपयोगी शिक्षा कार्यक्रम सञ्चालन गरिने, सबै माध्यमिक विद्यालयमा विद्यार्थी नेतृत्व विकास कार्यक्रम लागू गरिने तथा उद्यमशीलता विकाससम्बन्धी तालिम सञ्चालन गरिने नीति लिइएको छ। यसबाट विद्यार्थीलाई अध्ययनसँगै सीप र स्वरोजगारमुखी शिक्षा प्रदान गर्ने लक्ष्य राखिएको गाउँपालिकाले जनाएको छ।

वैदेशिक रोजगारीबाट फर्किएका युवालाई लक्षित गरी स्वरोजगार र उद्यमशीलता विकासका कार्यक्रम सञ्चालन गरिनेछ। युवालाई स्थानीय स्तरमै रोजगारीका अवसर सिर्जना गरी उत्पादनशील क्षेत्रमा आबद्ध गराउने उद्देश्य नीति तथा कार्यक्रममा समावेश गरिएको छ।

स्वास्थ्य क्षेत्रतर्फ प्रत्येक नागरिकलाई टोल–टोलमै आधारभूत स्वास्थ्य सेवा उपलब्ध गराउने, गाउँपालिका अस्पताल तथा स्वास्थ्य संस्थाको सेवा थप प्रभावकारी र गुणस्तरीय बनाउने तथा योग र ध्यानजस्ता स्वास्थ्य प्रवर्द्धनात्मक कार्यक्रमलाई पनि प्राथमिकताका साथ सञ्चालन गर्ने योजना रहेको छ।

अध्यक्ष सुनुवारले आगामी आर्थिक वर्षको बजेट तथा कार्यक्रमले शिक्षा, स्वास्थ्य, कृषि, उद्यमशीलता, खेलकुद तथा पर्यटन क्षेत्रको समग्र विकासमार्फत गाउँपालिकावासीको जीवनस्तर सुधार गर्ने विश्वास व्यक्त गर्नुभयो। उहाँले स्थानीय आवश्यकता, जनअपेक्षा र दिगो विकासका लक्ष्यलाई केन्द्रमा राखेर नीति तथा कार्यक्रम तथा बजेट तयार गरिएको बताउनुभयो।