जनता टाइम्स

११ असार २०८३, बिहीबार ०२:५९

समूहको शीर्षस्थानमा स्विट्जरल्याण्ड, कतार विश्वकपबाट बाहिरियो


विश्वकपको समूह चरणको अन्तिम खेलमा क्यानडालाई पराजित गर्दै स्विट्जरल्याण्ड समूह ‘बी’ को शीर्ष स्थानमा पुगेको छ ।

क्यानडालाई २-१ले पराजित गर्दै स्वीट्जरल्याण्ड सात अंकसहित तालिकाको शीर्ष स्थानमा पुगेको हो ।

स्विट्जरल्याण्डका लागि रुवेन वर्गासले ४६ औँ मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए । यस्तै, खेलको ५६ औँ मिनेटमा जोआन मुन्जाबिकले गोल गर्दै अग्रता बढाए । ७५ औँ मिनेटमा क्यानडाका नाथ सालिभाले गोल फर्काएका थिए ।

समूह ‘बी’मा यसअघि एक खेल बराबरी र एकमा जित निकाल्दै स्वीट्जरल्याण्ड र क्यानडाले समान चार अंक पाएका थिए । समूह चरणको पहिलो खेलमा स्वीट्जरल्याण्ड कतारसँग १-१ को बराबरी खेलेको थियो । दोस्रो खेलमा उसले बोस्नियाहर्जगोभिनालाई ४-१ ले पराजित गरेको थियो ।

यस्तै, क्यानडाले पहिलो खेल बोस्नियाहर्जगोभिनासँग १-१ को बराबरी खेलेको थियो भने दोस्रो खेलमा उसले कतारलाई ६-0 ले स्तब्ध पारेको थियो ।

यता बोस्निया हर्जगोभिनाले पहिलोमा बराबरी, दोस्रोमा हार र तेस्रोमा जित निकालेको हो । कतारविरुद्ध ३-१ ले जित निकाल्दै उसले नकआउट प्रवेशको संभावनालाई जिवितै राखेको छ ।

१२ समूहबाट शीर्ष दुई सिधै नकआउटमा जानेछन् । यस्तै, समूहमा तेस्रो मध्ये उत्कृष्ट आठले पनि नकआउटको मौका पाउनेछन् । बोस्नियाहर्जगोभिनाका लागि २९ औँ मिनेटमा केरिम अल्भेगोभिजले गोल गर्दै अग्रता दिलाएका थिए ।

कतारका असन अलायोस्ले ४२ औँ मिनेटमा गोल फर्काएका थिए । खेलको ३४औँ मिनेटमा कतारका सुल्ताने एब्रेकबाट आत्मघाति गोल हुँदा बोस्नियाहर्जगोभिना २-0 ले अघि रह्यो । दोस्रो हाफको ८० औँ मिनेटमा इमिन मेमिकले गोल गरे । त्यसपछि नतिजा ३- १ मा पुगेको हो ।

कतारले भने पहिलोमा बराबरी गरे पनि दुई खेलमा हार व्योहोरेर बिश्वकपबाट बाहिरिएको हो ।