जनता टाइम्स

११ असार २०८३, बिहीबार ०७:२५

गोकुलगंगा गाउँपालिकाको बजेट ६३ करोड, ग्रामीण विकास र आधारभूत सेवामा जोड


रामेछाप, असार ११ । गोकुलगंगा गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ६३ करोड ५ लाख २० हजार २७६ रुपैयाँको बजेट सार्वजनिक गरेको छ। गाउँपालिकाले ग्रामीण विकास, आधारभूत सेवा विस्तार तथा दिगो विकासलाई प्राथमिकतामा राख्दै बजेट तथा कार्यक्रम ल्याएको हो।

बुधबार सम्पन्न गाउँसभाको अधिवेशनमा गाउँपालिका उपाध्यक्ष उषादेवी कार्कीले बजेट प्रस्तुत गर्दै ग्रामीण पूर्वाधार विकास, अधुरा तथा क्रमागत योजनाको निरन्तरता, खानेपानी तथा सरसफाइ, शिक्षा, स्वास्थ्य, विपद् व्यवस्थापन, डिजिटल प्रविधि विस्तार, उद्यमशीलता प्रवर्द्धन तथा सामाजिक समावेशीकरणलाई प्राथमिकताका क्षेत्रका रूपमा समेटिएको जानकारी दिनुभयो।

गाउँपालिकाले चालु आर्थिक वर्ष २०८२/०८३ को प्रगति विवरणसमेत सार्वजनिक गरेको छ। विवरणअनुसार हालसम्म प्राप्त ५२ करोड ९७ लाख रुपैयाँभन्दा बढी बजेटमध्ये ५७ प्रतिशत खर्च भइसकेको छ। चालुतर्फ ६३ प्रतिशत र पुँजीगततर्फ ४५ प्रतिशत बजेट खर्च भएको गाउँसभामा जानकारी गराइएको थियो।

गाउँपालिका अध्यक्ष काजीबहादुर खड्काले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा गुणस्तरीय शिक्षा, सहज स्वास्थ्य सेवा, कृषि आधुनिकीकरण, युवा उद्यमशीलता, खानेपानी विस्तार, पर्यटन प्रवर्द्धन तथा ग्रामीण पूर्वाधार विकासलाई विशेष प्राथमिकतामा राखिएको बताउनुभयो।

उहाँका अनुसार आगामी वर्षमा अधुरा तथा क्रमागत योजनालाई पहिलो प्राथमिकता दिइनेछ। साथै उत्पादन वृद्धि, रोजगारी सिर्जना तथा आधारभूत सेवामा नागरिकको पहुँच विस्तार गर्दै गाउँपालिकाको समग्र विकासलाई थप गति दिने लक्ष्य लिइएको छ।

गाउँपालिकाले बजेटमार्फत कृषि उत्पादन र उत्पादकत्व वृद्धि, स्थानीय स्तरमै रोजगारी सिर्जना, विपन्न तथा लक्षित वर्गको उत्थान, सूचना प्रविधिको प्रयोग विस्तार तथा सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने योजना अघि सारेको छ। साथै विकास निर्माणका कामलाई समयमै सम्पन्न गर्दै नागरिकलाई प्रत्यक्ष लाभ पुग्ने कार्यक्रमलाई प्राथमिकतामा राखिएको जनाइएको छ।

गाउँपालिकाले सार्वजनिक गरेको बजेट तथा कार्यक्रममार्फत स्थानीय स्रोत–साधनको अधिकतम उपयोग गर्दै आर्थिक, सामाजिक तथा पूर्वाधार विकासका गतिविधिलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्ने अपेक्षा गरिएको छ। गाउँपालिकाले आगामी वर्षलाई विकास निर्माण, सेवा प्रवाहको गुणस्तर सुधार तथा समावेशी विकासको वर्षका रूपमा अघि बढाउने लक्ष्य लिएको जनाएको छ ।