जनता टाइम्स

११ असार २०८३, बिहीबार १४:५३

वडाध्यक्ष माथि हाइड्रोका कर्मचारीले गरेको दुर्व्यवहार प्रति एमाले रामेछापका आपत्ति, कारबाहीकाे माग  


रामेछाप, असार ११ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) रामेछापले लिखु तामाकोशी गाउँपालिका–२ का वडाध्यक्ष तथा पार्टीका जिल्ला कमिटी सदस्य सन्तोष पौडेलमाथि स्वेतगंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन लिमिटेडका प्रतिनिधिबाट भएको भनिएको गालीगलौज र अमर्यादित व्यवहारप्रति गम्भीर आपत्ति जनाएको छ।

जिल्ला कमिटी अध्यक्ष पुरुषोत्तम करियाद्वारा जारी प्रेस विज्ञप्तिमा असार ९ गते भएको उक्त घटनाप्रति पार्टीले घोर निन्दा तथा भर्त्सना गरेको उल्लेख गरिएको छ। विज्ञप्तिमा आयोजनासँग सम्बन्धित कुनै समस्या वा जनगुनासो देखिएमा सरोकारवाला पक्षबीच आवश्यक समन्वय र संवादमार्फत समाधान खोज्नुपर्नेमा निर्वाचित जनप्रतिनिधिमाथि गरिएको व्यवहार निन्दनीय र खेदजनक भएको जनाइएको छ।

एमाले रामेछापले वडाध्यक्ष पौडेलसहित वडा सदस्यहरूलाई गाउँसभामा सहभागी हुनसमेत बाधा पुग्ने गरी जबरजस्तीपूर्ण छलफलमा राखिएको, स्थानीय सर्वसाधारणलाई कमजोरी स्वीकार गर्न दबाब दिँदै क्षतिपूर्ति तिर्ने आशयका कागजातमा हस्ताक्षर गर्न बाध्य पारिएको तथा अन्य विभिन्न गतिविधि सञ्चालन गरिएको आरोप लगाएको छ।

विज्ञप्तिमा स्वेतगंगा हाइड्रोपावरका यस्ता गतिविधि सर्वथा अनुचित रहेको उल्लेख गर्दै कानुनी राज्यको मान्यता र लोकतान्त्रिक मूल्य–मान्यता विपरीत हुने दाबी गरिएको छ।

पार्टीले जनप्रतिनिधि तथा स्थानीय सर्वसाधारणमाथि भएको भनिएको ज्यादतीपूर्ण घटनाको निष्पक्ष छानबिन गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदै दोषीमाथि कानुनबमोजिम कारबाही गर्न माग गरेको छ।

एमाले रामेछापले यस्ता घटनाले स्थानीय तहका निर्वाचित जनप्रतिनिधिको मर्यादा र नागरिक अधिकारमाथि असर पुग्ने उल्लेख गर्दै समस्या समाधानका लागि संवाद, समन्वय र कानुनी प्रक्रियालाई अवलम्बन गर्न सम्बन्धित पक्षलाई आग्रह गरेको छ।