काठमाडौं, असार १७ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूको शपथ ग्रहण कार्यक्रम आज हुने भएको छ।

रास्वपाका अनुसार शपथ ग्रहण कार्यक्रम आज बिहान ११ बजे काठमाडौंको वनस्थलीस्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजना गरिएको छ। महाधिवेशनबाट निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरूले सो अवसरमा पद तथा गोपनीयताको शपथ लिनेछन्।
चितवनमा असार ७ देखि १२ गतेसम्म सम्पन्न पहिलो महाधिवेशनबाट पार्टी सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित हुनुभएको थियो। उहाँले भने महाधिवेशनकै क्रममा चितवनमा निर्वाचन आयोगबाट शपथ ग्रहण गरिसक्नुभएको छ।
महाधिवेशनबाट ९९ जना केन्द्रीय सदस्य निर्वाचित भएका थिए। निर्वाचन परिणाममा देखिएको प्राविधिक त्रुटि सच्याउँदै निर्वाचन आयोगले पूजा बास्तोला र ध्रुव थापा मगर लाई पनि निर्वाचित केन्द्रीय सदस्यका रूपमा अन्तिम सूचीमा समावेश गरेको छ।
यसअघि आफूभन्दा कम मत प्राप्त गरेका उम्मेदवारलाई विजयी घोषणा गरिएको भन्दै पूजा बास्तोलाले असन्तुष्टि जनाउँदै सर्वोच्च अदालत जाने बताउनुभएको थियो भने ध्रुव थापा मगरले पनि पार्टीको निर्वाचन आयोगमा उजुरी दिनुभएको थियो। पछि आयोगले मतपरिणाम पुनः अध्ययन गरी प्राविधिक त्रुटि सच्याएको जनाएको छ।











प्रतिक्रिया दिनुहोस्