काठमाडौं, १७ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टी सदस्यतामा १८ वर्षमुनिका व्यक्तिलाई समावेश गरिएको भन्ने विवादबारे स्पष्टीकरण दिँदै १ लाख ३३ हजार ३५३ सदस्यता आवेदनको नागरिकता प्रमाणीकरण अझै बाँकी रहेको जनाएको छ।
बुधबार जारी विज्ञप्तिमा रास्वपाले प्रथम महाधिवेशनमा प्रस्तुत गरिएको सांगठनिक प्रतिवेदनमा उल्लेख गरिएको तथ्यांक आधिकारिक सदस्यको सूची नभई डिजिटल प्रणालीमा दर्ता भएका प्रारम्भिक सदस्यता आवेदनको विश्लेषण मात्र भएको स्पष्ट पारेको छ।
पार्टीका अनुसार हालसम्म डिजिटल प्रणालीमा ५ लाख २३ हजार ४६५ सदस्यता आवेदन दर्ता भएका छन्। तीमध्ये ३ लाख ९० हजार ११२ जनाको नागरिकता तथा अन्य आधिकारिक कागजातका आधारमा प्रमाणीकरण सम्पन्न भइसकेको छ भने १ लाख ३३ हजार ३५३ आवेदन अझै प्रमाणीकरण प्रक्रियामै रहेका छन्।
रास्वपाले संविधान, राजनीतिक दलसम्बन्धी ऐन, बालबालिकासम्बन्धी ऐन तथा पार्टी विधानअनुसार १८ वर्ष पूरा गरेका नेपाली नागरिक मात्रै पार्टी सदस्य बन्न सक्ने व्यवस्था रहेको उल्लेख गर्दै १८ वर्षमुनिका व्यक्तिलाई सदस्य बनाउने कुनै नीति वा अभ्यास नरहेको दाबी गरेको छ।
पार्टीले प्रारम्भिक समीक्षामा सदस्यता आवेदनका क्रममा आवेदकले स्वयं विवरण प्रविष्ट गर्दा वि.सं. र ई.सं. पात्रो छनोटमा भएको त्रुटि, जन्ममिति टाइप गर्दा भएको गल्ती वा जन्ममितिको सट्टा हालको मिति राखिएका कारण केही आवेदकको उमेर प्रणालीमा वास्तविकभन्दा कम देखिएको पाइएको जनाएको छ।
रास्वपाले सदस्यता प्रणालीको प्राविधिक तथा प्रशासनिक समीक्षा सुरु गरिएको जानकारी दिँदै अब १८ वर्षभन्दा कम उमेर देखिने आवेदन प्रणालीले स्वतः अस्वीकार गर्ने व्यवस्था लागू गरिने जनाएको छ। साथै, प्रमाणीकरण भइसकेका अभिलेखको पनि पुनः परीक्षण गरी कानुनविपरीत सदस्यता स्वीकृत भएको भेटिए तत्काल खारेज गरिने स्पष्ट पारेको छ।













प्रतिक्रिया दिनुहोस्