जनता टाइम्स

२२ असार २०८३, सोमबार ०८:१७

धनगढीमा भारतीय नम्बरको गाडीको ठक्करबाट मोटरसाइकल पछाडि सवारको मृत्यु, चालक फरार


काठमाडौं,  असार २२ । कैलालीको धनगढीमा भारतीय नम्बरको गाडीले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ।

आइतबार राति करिब पौने १० बजे धनगढी उपमहानगरपालिका–३ बोराडाँडी चोकमा युपी ६५ ईएक्स ०१०० नम्बरको भारतीय गाडीले से ४ प ९५२ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको प्रहरीले जनाएको छ।

दुर्घटनामा मोटरसाइकलको पछाडि सवार बैतडीको सिगास गाउँपालिकाका ४८ वर्षीय पदम चन्द गम्भीर घाइते भएका थिए। उहाँलाई तत्काल उपचारका लागि माया मेट्रो अस्पताल लगिए पनि राति करिब पौने ११ बजे उपचारकै क्रममा मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीले जनाएको छ।

मोटरसाइकल चालक गौतम ऐर भने सकुशल रहेको प्रहरीले जनाएको छ।

दुर्घटनापछि भारतीय नम्बरको गाडी र चालक घटनास्थलबाट फरार भएका छन्। फरार गाडी र चालकको खोजी तथा घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।