काठमाडौं, असार २३ । कर्णाली प्रदेशका ४६ स्थानीय तहमा मौसम मापन केन्द्र सञ्चालनमा आएका छन् भने अझै ३३ स्थानीय तहमा यस्ता केन्द्र स्थापना हुन बाँकी रहेको छ। मौसम पूर्वानुमान र विपद् जोखिम न्यूनीकरणलाई प्रभावकारी बनाउन केन्द्र विस्तारको काम जारी रहेको जल तथा मौसम विज्ञान कार्यालय सुर्खेतले जनाएको छ।
कार्यालय प्रमुख डा. इन्दिरा कँडेलका अनुसार कर्णालीमा हाल ७१ वटा मौसम मापन केन्द्र र ३१ वटा जलमापन केन्द्र सञ्चालनमा छन्। जनशक्ति अभावका कारण दुई जलमापन केन्द्र भने सञ्चालनमा आउन सकेका छैनन्।
यता, दैलेख–सुर्खेत सीमास्थित गुँरासे मौसम राडार केन्द्र भने चट्याङले क्षति पुर्याएपछि विगत दुई वर्षदेखि बन्द अवस्थामा रहेको छ। कर्णाली, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको मौसमसम्बन्धी सूचना उपलब्ध गराउने उद्देश्यले स्थापना गरिएको उक्त राडार अझै सञ्चालनमा आउन सकेको छैन।
डा. कँडेलका अनुसार राडारका लागि आवश्यक उपकरण विदेशबाट खरिद भइसके पनि जडान गर्ने दक्ष जनशक्ति नेपालमा उपलब्ध नभएकाले सञ्चालनमा ढिलाइ भएको हो। आगामी वर्षभित्र राडार पुनः सञ्चालनमा ल्याउने तयारी भइरहेको उहाँले जानकारी दिनुभयो।
उहाँले मौसम मापन केन्द्रको अभावले स्थानीयस्तरको वर्षा, तापक्रम तथा अन्य मौसमीय अवस्थाको यथार्थ तथ्याङ्क संकलन गर्न कठिन हुने बताउँदै यसले बाढी, पहिरो, अतिवृष्टिलगायत प्राकृतिक विपद्को पूर्वानुमान र समयमै पूर्वसूचना प्रवाहमा समेत प्रत्यक्ष असर पार्ने उल्लेख गर्नुभयो।
कर्णाली प्रदेश सरकारले मौसमसम्बन्धी पूर्वाधार विस्तारलाई प्राथमिकतामा राखेको जनाएको छ। प्रदेशका प्रमुख सचिव वीरेन्द्रकुमार यादवले मौसम मापन केन्द्र स्थापना हुन बाँकी रहेका स्थानीय तहमा आवश्यक उपकरण व्यवस्थापनका लागि प्रदेश सरकारले आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।













प्रतिक्रिया दिनुहोस्