जनता टाइम्स

२५ असार २०८३, बिहीबार ०९:५२

काठमाडौं उपत्यकामा तीन दिन वर्षाको सम्भावना, शुक्रबार भारी पानी पर्न सक्ने


काठमाडौं, २५ असार । मौसमविद्हरूले काठमाडौं उपत्यकामा आजदेखि लगातार तीन दिनसम्म वर्षा हुने सम्भावना रहेको बताएका छन्। मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहीबार पनि उपत्यकामा मध्यम वर्षा हुने सम्भावना रहेको छ भने शुक्रबार केही स्थानमा भारी वर्षा हुन सक्ने अनुमान गरिएको छ।

महाशाखाका मौसमविद् सरोज पुडासैनीले बिहीबार बिहान उपत्यकाका विभिन्न स्थानमा हल्का वर्षा भएको जानकारी दिँदै दिउँसो २–३ बजापछि पुनः मध्यम वर्षा हुने सम्भावना रहेको बताउनुभयो।

उहाँका अनुसार काठमाडौं उपत्यकामा बिहीबारदेखि शनिबारसम्म वर्षाका गतिविधि निरन्तर रहने देखिएको छ। विशेषगरी शुक्रबार भारी वर्षा हुने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन उहाँले आग्रह गर्नुभएको छ।

मौसम पूर्वानुमान महाशाखाले सामान्यतया तीन दिनसम्मको मौसम विश्लेषण गर्ने भएकाले देशभरको वर्षा र मौसमको विस्तृत अद्यावधिक विवरण बिहान ८ बजे सार्वजनिक गरिने जनाएको छ।

महाशाखाले लगातार वर्षाका कारण डुबान, जलजमाव तथा पहिरोको जोखिम बढ्न सक्ने भएकाले आवश्यक सावधानी अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ।