काठमाडौं, असार २५ । काठमाडौंको बल्खु क्षेत्रमा यात्रुलाई जबर्जस्ती गाडीमा चढाउने, झोला तथा सामान तान्ने र अनावश्यक दुःख–हैरानी दिने १७ जनालाई प्रहरीले पक्राउ गरेको छ।

पैदलयात्री तथा सर्वसाधारणबाट लगातार गुनासो आएपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले बुधबार उनीहरूलाई पक्राउ गरेको हो।
कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक रामेश्वर कार्कीका अनुसार पक्राउ परेकाहरूले यात्रुलाई जबर्जस्ती सवारीसाधनमा चढाउन खोज्ने, झोला तान्ने तथा विभिन्न किसिमले हैरानी दिने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
पक्राउ पर्नेहरूमा काभ्रेपलाञ्चोकका सुमन लामा, अर्जुन लामा, सुरेन्द्र तामाङ र साजन मगर, बाराका अजयराम महरा र कलाम हवारी, पर्साका तीर्थ मल्लिक, उदयपुरका बस्नेत कार्की, सर्लाहीका सिकिन्दर महतो, मकवानपुरका महेश राई, चितवनका रामकृष्ण गिरी तथा कीर्तिपुरका सन्तोष स्याङ्तानलगायत १७ जना रहेका छन्।
प्रहरीले पक्राउ परेकामाथि थप अनुसन्धान भइरहेको जनाएको छ। साथै सार्वजनिक स्थानमा यात्रुलाई दुःख–हैरानी दिने गतिविधिविरुद्ध निगरानी र कारबाहीलाई थप कडाइ गरिने पनि प्रहरीले जनाएको छ।












प्रतिक्रिया दिनुहोस्