जनता टाइम्स

२५ असार २०८३, बिहीबार १०:१७

दलाई लामासम्बन्धी गतिविधिले नेपालको परराष्ट्र नीतिमाथि प्रश्न उठाएको नारायणकाजी श्रेष्ठको आरोप


काठमाडौं, असार २५  । नेकपाका नेता तथा पूर्वपरराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले नेपालमा दलाई लामासम्बन्धी पछिल्ला गतिविधिले नेपालको स्वतन्त्र र असंलग्न परराष्ट्र नीतिमा विचलन आउन सक्ने आशंका बढाएको बताउनुभएको छ।

सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै उहाँले सुशीला कार्की नेतृत्वको भनिएको अन्तरिम सरकार र वर्तमान बालेन नेतृत्वको सरकारलाई दलाई लामा तथा उहाँले ‘कथित सरकार’ भनेको पक्षबाट बधाई सन्देश आएयता नेपालमा त्यसको अन्तर्यबारे गम्भीर प्रश्न उठिरहेको दाबी गर्नुभयो। साथै, दलाई लामाको उत्तराधिकारी नेपालबाटै घोषणा गर्ने चर्चा समेत चलिरहेको उल्लेख गर्नुभयो।

श्रेष्ठले केही दिनअघि नेपालमा पहिलोपटक सरकारी औपचारिक अनुमतिमा दलाई लामाको जन्मोत्सव समारोहपूर्वक मनाइएको र उक्त कार्यक्रममा काठमाडौंस्थित केही पश्चिमी मुलुकका कूटनीतिज्ञहरूको सहभागिता रहेको सार्वजनिक भएको उल्लेख गर्दै यसलाई सामान्य घटनाका रूपमा लिन नसकिने बताउनुभयो।

उहाँका अनुसार यस्ता गतिविधिले वर्तमान सरकार नेपालको परम्परागत स्वतन्त्र तथा असंलग्न परराष्ट्र नीतिबाट विचलित भई कुनै शक्ति राष्ट्रको रणनीतिक स्वार्थअनुकूल अघि बढिरहेको आशंकालाई थप बल पुगेको छ।

पूर्वपरराष्ट्रमन्त्री श्रेष्ठले नेपालको राष्ट्रिय सार्वभौमसत्ता, स्वाधीनता र स्वतन्त्र परराष्ट्र नीति कुनै पनि परिस्थितिमा कमजोर हुन नहुने उल्लेख गर्दै व्यवहारमा त्यसबाट विचलन भए मुलुक गम्भीर जोखिममा पर्न सक्ने चेतावनी दिनुभयो।

उहाँले देशभक्त नेपाली जनताले राष्ट्रिय हितविपरीत हुने कुनै पनि गतिविधि स्वीकार नगर्ने दाबी गर्दै सरकारलाई नेपालको सार्वभौमिकता र स्वाधीनताविपरीत कुनै कदम नचाल्न आग्रह गर्नुभयो।