जनता टाइम्स

२५ असार २०८३, बिहीबार १७:११

संविधान संशोधन कार्यदलबाट दलहरू बाहिरिने अवस्था वैशाखमै थाहा थियो : गगन थापा


काठमाडौं,  असार २५ । नेपाली कांग्रेसका सभापति गगन थापाले सरकारले गठन गरेको संविधान संशोधन बहस कार्यदलबाट राजनीतिक दलहरू अन्ततः बाहिरिने अवस्था आउने विषय आफूहरूलाई वैशाख महिनामै थाहा भएको दाबी गर्नुभएको छ।

बिहीबार आयोजित ‘संविधान संशोधनमा नेपाली कांग्रेसको दृष्टिकोण’ विषयक कार्यक्रममा बोल्दै सभापति थापाले कांग्रेसले यही कारण कार्यदलमा आफ्नो प्रतिनिधि नपठाई सुरुदेखि नै पार्टीभित्र र विभिन्न सरोकारवालासँग छुट्टै छलफल अघि बढाएको बताउनुभयो।

उहाँले भन्नुभयो, “अहिले सबै राजनीतिक दलले ढिलै भए पनि आफ्ना प्रतिनिधिलाई फिर्ता बोलाउनुभएको छ। यो अवस्था आउँछ भन्ने कुरा हामीलाई वैशाखमै थाहा थियो। त्यसैले हामीले वैशाखदेखि नै आफ्नै ढंगले संविधान संशोधनबारे छलफल सुरु गरेका थियौं।”

सभापति थापाले संविधान संशोधन प्रक्रिया अघि बढाउन कांग्रेसले सुरुदेखि नै दुईवटा विकल्प प्रस्ताव गरेको जानकारी दिनुभयो। उहाँका अनुसार बहालवाला वा अवकाशप्राप्त सर्वोच्च अदालतका न्यायाधीश तथा संविधानविद्हरू सम्मिलित विज्ञ समिति गठन गर्ने वा संसद्भित्रै विशेष समिति बनाएर प्रक्रिया अघि बढाउने विकल्प कांग्रेसले अघि सारेको थियो।

उहाँले संविधान संशोधनलाई गम्भीर र व्यवस्थित प्रक्रियामार्फत अघि बढाउनुपर्नेमा जोड दिँदै प्राथमिकता निर्धारण गरेर मात्रै संशोधन प्रक्रिया अघि बढाउनुपर्ने धारणा व्यक्त गर्नुभयो।

सभापति थापाले पहिलो चरणमा संविधानमै उल्लेख गरिएका १० वर्षपछि पुनरावलोकन गर्नुपर्ने विषयहरूलाई संशोधन गर्नुपर्ने बताउनुभयो। त्यसपछि मात्र विश्वासको वातावरण निर्माण गर्दै शासकीय स्वरूप, निर्वाचन प्रणाली र संघीयतासम्बन्धी विषयमा आवश्यक संशोधनबारे छलफल गर्न उपयुक्त हुने उहाँको भनाइ थियो।

संविधानका सबै विषय एकैपटक खोल्ने प्रयास गरिए मुलुक थप जटिल राजनीतिक संकटतर्फ धकेलिन सक्ने चेतावनी दिँदै उहाँले संविधान संशोधनमा सहमति, संयमता र चरणबद्ध प्रक्रिया आवश्यक रहेको बताउनुभयो।