जनता टाइम्स

२५ असार २०८३, बिहीबार २०:३९

कर्णाली दुर्घटनामा बेपत्ता सिर्जनाको शव फेला, चालक–सहचालक अझै बेपत्ता


काठमाडौं,  असार  २५ । दैलेखको कर्णाली राजमार्गमा भएको गाडी दुर्घटनापछि बेपत्ता भएकी कालीकोट रास्कोट नगरपालिका–२ निवासी १८ वर्षीया सिर्जना खड्काको शव कर्णाली नदीमा फेला परेको पुष्टि भएको छ।

जिल्ला प्रहरी कार्यालय दैलेखका अनुसार असार २३ गते सुर्खेतको चौकुने गाउँपालिका–४ डङ्डगेस्थित कर्णाली नदीमा फेला परेको शव सिर्जनाकै भएको उनका बुबा धनबहादुर खड्काले सनाखत गर्नुभएको हो।

असार १८ गते सुर्खेतबाट कालीकोटका लागि छुटेको कर्णाली प्रदेश ०२–००१ ख १०५५ नम्बरको यात्रुवाहक गाडी दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका–७ स्थित साङ्गतेडा क्षेत्रमा सडकबाट करिब ४ सय मिटर तल कर्णाली नदीमा खसेर दुर्घटनाग्रस्त भएको थियो।

दुर्घटनालगत्तै नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र स्थानीयवासीले खोज तथा उद्धार अभियान सञ्चालन गर्दै आएका छन्। प्रहरीका अनुसार गाडीमा पाँच जना सवार थिए।

यसअघि दुर्घटनामा परेका पचालझरना गाउँपालिका–९ का जेखे तिरुवाको शव फेला परेर सनाखत भइसकेको थियो। पोस्टमार्टमपछि उहाँको शव परिवारलाई बुझाएर अन्त्येष्टि गरिएको प्रहरीले जनाएको छ।

यस्तै, गाडीका चालक तुलाराम सुवेदी र सहचालक रामप्रसाद सुवेदी अझै बेपत्ता रहेका छन्। दाजुभाइ रहेका उनीहरूको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।