जनता टाइम्स

२५ असार २०८३, बिहीबार २०:४६

दसैँपछि बालेन सरकारविरुद्ध आन्दोलन हुने, मंसिरभित्र सरकार ढल्ने महेश बस्नेतको दाबी


काठमाडौं, असार  २५  । नेकपा (एमाले)का सचिव महेश बस्नेतले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) नेतृत्वको सरकारविरुद्ध दसैँपछि व्यापक आन्दोलन हुने दाबी गर्दै वर्तमान सरकार मंसिरभित्रै ढल्ने दाबी गर्नुभएको छ।

पार्टी केन्द्रीय कार्यालयमा सञ्चारकर्मीसँग कुरा गर्दै नेता बस्नेतले एमालेसहित विभिन्न राजनीतिक दल आन्दोलनको तयारीमा रहेको उल्लेख गर्दै सरकारविरुद्ध जनअसन्तुष्टि तीव्र बन्दै गएको बताउनुभयो।

उहाँले सुकुम्बासी व्यवस्थापन, किसानलाई मल उपलब्ध गराउने विषय, श्रमिक तथा विद्यार्थीको संगठित हुने अधिकारलगायतका मुद्दामा सरकार असफल भएको आरोप लगाउँदै गरिब नागरिकको पीडाले सरकारलाई नै संकटमा पार्ने टिप्पणी गर्नुभयो।

नेता बस्नेतले सिंहदरबार आसपासका सुकुम्बासी बस्ती हटाएर बर्खायाममा नागरिकलाई घरबारविहीन बनाइएको आरोपसमेत लगाउनुभयो। उहाँले सरकारको पछिल्लो कदमप्रति असन्तुष्टि बढ्दै गएको दाबी गर्दै त्यसकै परिणामस्वरूप दसैँपछि सरकारविरुद्ध सशक्त आन्दोलन हुने बताउनुभयो।

यस्तै, उहाँले प्रधानमन्त्री बालेन्द्र शाहको अघिल्लो राजनीतिक भूमिकाप्रति पनि टिप्पणी गर्दै राज्यका निकायको प्रयोग गरेर असन्तुष्ट समूहलाई दबाउने प्रयास भइरहेको आरोप लगाउनुभयो।

साथै, सरकार र मन्त्रीहरूको आलोचना गर्नेहरूलाई समेत कानुनी कारबाहीको त्रास सिर्जना गरिएको आरोप लगाउँदै अभिव्यक्ति स्वतन्त्रतामाथि दबाब बढेको दाबी गर्नुभयो।