काठमाडौं, असार २५ । सप्तरीमा एक महिलालाई सखुवाको खम्बामा बाँधेर कुटपिट तथा अमानवीय व्यवहार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार पक्राउ पर्नेमा तिलाठी कोइलाडी गाउँपालिका–६ मंसापुरका ३८ वर्षीय दिलीप मण्डल रहेका छन्। उहाँलाई सप्तरी जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार गत जेठ २२ गते तिलाठी कोइलाडी गाउँपालिका–६ की २३ वर्षीया पार्वतीकुमारी मण्डललाई सखुवाको खम्बामा बाँधेर अर्धनग्न अवस्थामा कुटपिट तथा अमानवीय व्यवहार गरिएको आरोप छ। पीडितले दिलीप मण्डलसहित चार जनाविरुद्ध जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी दिनुभएको थियो।
पीडित पार्वतीकुमारी मण्डलका अनुसार जग्गा–जमिन बाँडफाँटको विवादका क्रममा उहाँका ७५ वर्षीय ससुरालाई मानसिक बिरामी भन्दै सुधार केन्द्रमा लगिएको घटनाको विरोध गर्दा आफूलाई सामूहिक रूपमा कुटपिट गरी अमानवीय व्यवहार गरिएको हो।
उहाँले आर्थिक अवस्था कमजोर भएका कारण न्यायिक सहयोगका लागि इन्सेक सप्तरीमार्फत मधेश प्रदेश कार्यालयमा समेत निवेदन दिनुभएको थियो। त्यसपछि घटनाबारे प्रहरीमा उजुरी दर्ता गरिएको थियो।
जिल्ला प्रहरी कार्यालय सप्तरीका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक हेमराज घिमिरेका अनुसार घटनामा संलग्न अन्य व्यक्तिहरूको खोजी तथा थप अनुसन्धान जारी रहेको छ।












प्रतिक्रिया दिनुहोस्