काठमाडौं, असार २६ । त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि आफ्नै शरीरमा आगो लगाएर गम्भीर घाइते भएका मुगुका २५ वर्षीय गणेश नेपालीलाई थप उपचारका लागि भारत लैजाने तयारी स्वास्थ्य अवस्था अस्थिर बनेपछि स्थगित गरिएको छ।
वीर अस्पतालको बर्न आईसीयूमा भेन्टिलेटरमा उपचाररत नेपालीलाई चिकित्सकको प्रारम्भिक सिफारिसअनुसार भारतको नयाँ दिल्लीस्थित एम्स अस्पताल लैजाने सम्पूर्ण तयारी सरकारले पूरा गरेको थियो। उहाँका लागि एयर एम्बुलेन्सको व्यवस्था गरिएको थियो भने सम्पूर्ण उपचार खर्च सरकारले व्यहोर्ने निर्णय पनि गरिएको थियो।
गृहमन्त्री सुधन गुरुङ स्वयं अस्पतालदेखि विमानस्थलसम्मको व्यवस्थापनमा सक्रिय रहनुभएको थियो। नेपाल प्रहरी र ट्राफिक प्रहरीले रातभर सडक व्यवस्थापन गरेको थियो भने भारत पुगिसकेपछि एम्स अस्पतालसम्म पुर्याउने सबै तयारी पनि पूरा गरिएको थियो।
तर, वीर अस्पतालका चिकित्सकहरूले गणेश नेपालीको स्वास्थ्य अवस्था अझै अस्थिर रहेको र यस्तो अवस्थामा अन्यत्र स्थानान्तरण गर्दा ज्यानको जोखिम बढ्न सक्ने सुझाव दिएपछि तत्काल भारत नलैजाने निर्णय गरिएको हो। चिकित्सकहरूले स्वास्थ्य अवस्था स्थिर भएपछि मात्र विदेश लैजान उपयुक्त हुने बताएका छन्।
बिहीबार दिउँसो वीर अस्पतालमा भर्ना गरिएका नेपालीको शरीरको करिब ५५ प्रतिशत भाग जलेको अस्पतालले जनाएको छ। हाल प्लास्टिक सर्जरी विभागका संयोजक डा. पियुष दाहालको नेतृत्वमा विशेषज्ञ चिकित्सक तथा स्वास्थ्यकर्मीहरूको २१ सदस्यीय टोली उहाँको उपचारमा खटिएको छ।
चिकित्सकहरूले रक्तचाप नियन्त्रणमा राख्दै स्वास्थ्य अवस्था स्थिर बनाउने प्रयास गरिरहेको अस्पतालले जनाएको छ।













प्रतिक्रिया दिनुहोस्