काठमाडौं, असार २६ । मुगुका गणेश नेपालीको उपचारका क्रममा निधन भएको घटना सेलाउन नपाउँदै सर्लाहीमा पनि एक युवकले आत्मदाहको प्रयास गरेका छन्।
सर्लाही–४ का प्रतिनिधिसभा सदस्य अमरेशकुमार सिंहका अनुसार गोडैता नगरपालिका–१० निवासी ३५ वर्षीय विवेक मण्डलले आफ्नै शरीरमा पेट्रोल खन्याएर आगो लगाएका हुन्।
सांसद सिंहले सामाजिक सञ्जालमार्फत घटना सार्वजनिक गर्दै सूचना प्राप्त हुनासाथ घाइते मण्डललाई काठमाडौं ल्याउन हेलिकोप्टरको व्यवस्था गरिएको जानकारी दिएका छन्।
उहाँका अनुसार घाइतेको अवस्था गम्भीर रहेकाले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन), गृहमन्त्री सुधन गुरुङ तथा रास्वपा सभापति रवि लामिछानेलाई घटनाबारे जानकारी गराउँदै तत्काल सरकारीस्तरबाट उद्धार र निःशुल्क उपचारको व्यवस्था मिलाइदिन आग्रह गरिएको छ।
हाल विवेक मण्डलको स्वास्थ्य अवस्था गम्भीर रहेको जनाइएको छ। आत्मदाह प्रयासको कारणबारे भने खुल्न बाँकी रहेको र सम्बन्धित निकायले थप विवरण संकलन गरिरहेको छ।













प्रतिक्रिया दिनुहोस्