जनता टाइम्स

२६ असार २०८३, शुक्रबार १९:०७

गणेश नेपाली श्रमिकमाथिको अमानवीय व्यवहारको शिकार भएको एमालेको आरोप, निष्पक्ष छानबिनको माग


काठमाडौं,  असार २६ । नेकपा (एमाले)ले राइडरका रूपमा काम गर्दै आउनुभएका मुगुका २५ वर्षीय गणेश नेपालीको उपचारका क्रममा भएको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै घटनाको निष्पक्ष छानबिन, दोषीमाथि कारबाही र पीडित परिवारलाई उचित क्षतिपूर्ति उपलब्ध गराउन सरकारसँग माग गरेको छ।

पार्टीका महासचिव शंकर पोखरेलले शुक्रबार जारी गर्नुभएको विज्ञप्तिमा गणेश नेपाली श्रमिक वर्गमाथि सरकारले गरेको अमानवीय व्यवहार र राज्य संयन्त्रबाट भएको दबाबको शिकार भएको आरोप लगाइएको छ। उहाँले रोजगारीका लागि काठमाडौं आएर राइडरका रूपमा संघर्ष गरिरहेका गणेश नेपाली मानसिक दबाबका कारण आत्मदाहजस्तो कदम चाल्न बाध्य भएको दाबी गर्नुभएको छ।

एमालेले मृतकप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गरेको छ। साथै, घटनाको स्वतन्त्र र निष्पक्ष छानबिन गरी दोषीलाई कानुनी दायरामा ल्याउन तथा पीडित परिवारलाई उचित राहत र क्षतिपूर्ति उपलब्ध गराउन सरकारसँग आग्रह गरेको छ।

विज्ञप्तिमा वर्तमान सरकारले गरिब, श्रमिक र सुकुम्वासीमाथि जनविरोधी तथा अमानवीय गतिविधि गरिरहेको आरोप पनि लगाइएको छ। सुकुम्वासी बस्ती हटाउने क्रममा वर्षायाममै नागरिकलाई घरबारविहीन बनाइएको, हजारौँलाई आवासको अधिकारबाट वञ्चित गरिएको र सयौँ बालबालिकाको शिक्षामा असर परेको एमालेको दाबी छ।

एमालेले होल्डिङ सेन्टरमा राखिएका सुकुम्वासीलाई विकल्पबिना हट्न अल्टिमेटम दिने, धम्की दिने तथा खाद्य अभावको जोखिममा पार्ने कार्य मानवअधिकारविपरीत भएको उल्लेख गर्दै यस्ता गतिविधि तत्काल रोक्न सरकारको ध्यानाकर्षण गराएको छ।

विज्ञप्तिमा लोकतन्त्रमा जनादेशको अर्थ स्वेच्छाचारिता नभएको उल्लेख गर्दै संविधानले सुनिश्चित गरेको बाँच्न पाउने अधिकार, सुरक्षित आवासको अधिकार तथा गरिब र श्रमिक नागरिकको सम्मानजनक जीवनको प्रत्याभूति गर्न सरकारसँग माग गरिएको छ।