काठमाडौं, असार २६ । आत्मदाहको प्रयासपछि उपचारका क्रममा गणेश नेपालीको निधन भएको घटनालाई लिएर विपक्षी दलहरूले प्रतिनिधिसभामा सरकारको तीव्र आलोचना गरेका छन्। उनीहरूले सरकारको नीति र व्यवहारका कारण सर्वसाधारण निराशा र चरम कदम चाल्न बाध्य भएको आरोप लगाएका छन्।
शुक्रबार बसेको प्रतिनिधिसभाको आकस्मिक समयमा नेपाली कांग्रेसकी प्रमुख सचेतक वासना थापाले सरकारको गलत नीतिका कारण गणेश नेपाली आत्मदाहको प्रयास गर्न बाध्य भएको आरोप लगाउनुभयो।
त्यसैगरी **नेकपा (एमाले)**का सांसद ऐन महरले सरकारले गरिब र श्रमिकमाथि गरेको अत्याचारका कारण गणेश नेपालीले आत्मदाह गर्नुपरेको दाबी गर्दै संसदभित्रै ‘बालेन सरकार मुर्दावाद’ भन्ने नारा लगाउनुभयो।
राप्रपाका संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले पनि सरकारको नीति र व्यवहारकै कारण यस्तो दुःखद घटना भएको टिप्पणी गर्दै प्रश्न गर्नुभयो, “काठमाडौं अर्बपतिहरूको मात्रै सहर हो ?”
गणेश नेपालीको घटनापछि संसदमा विपक्षी दलहरूले सरकारको कार्यशैली, श्रमिक तथा विपन्न नागरिकप्रतिको व्यवहार र सार्वजनिक सेवाको संवेदनशीलतामाथि गम्भीर प्रश्न उठाएका छन्।













प्रतिक्रिया दिनुहोस्