जनता टाइम्स

२७ असार २०८३, शनिबार ०९:५२

आत्मदाह गरेका गणेशको शव परिवारको सहमतिबिनै रातारात पुर्याइयो त्रिवि शिक्षण अस्पताल


काठमाडौं, असार २७ । त्रिपुरेश्वरमा आत्मदाह गरेका मुगुको सोरु गाउँपालिका–१ का २५ वर्षीय गणेश नेपालीको शव प्रहरीले रातारात त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्ज पुर्याएको छ । काठमाडौंका प्रमुख जिल्ला अधिकारी आफै संलग्न भएर परिवारको सहमतिबिनै गएराती बीर अस्पतालबाट उठाएरत्रिबि शिक्षण अस्पताल पुर्याइएको हो ।

उपचारको क्रममा शुक्रबार वीर अस्पतालमा मृत्यु भएका नेपालीको शव शुक्रवार राति साढे १० बजेतिर घेराउमा प्रहरीको शिक्षण अस्पताल पठाइएको थियो । परिवारलाई समेत शव कहाँ लैजाने भन्ने जानकारी नदिई सरकारले बलपुर्वक उठाएर त्रिबि शिक्षण अस्पताल पुर्याएको हो ।

सहमति नभएकोले गणेशको शव परिवारले बुझेका छैनन् । सरकारले बीर अस्पलात प्रशासनलाई शव सुरक्षित राख्नु पर्ने भएकोले राति नै शिक्षण अस्पताल पठाइएको बताउन लगाएको छ ।

वीर अस्पतालमा सूचना अधिकारी प्रकाश बुढाथोकीले वीर अस्पतालमा मर्चरी चेन (शवलाई सुरक्षित राख्ने फ्रिज) नभएका कारण शव शिक्षण अस्पताल पठाइएको जिकिर गर्नुभएको छ । तर शव लैजाने बेला सरकारले गरेको ज्याद्धतीले उहाँको भनाई सही हो भन्नेमा परिवार बिश्वस्थ हुन सकेको छैन । सरकारले गणेशका आफन्तसँग शुक्रबार अनौपचारिक वार्ता गरेको थियो तर कुनै निष्कर्ष निस्किएन । आज थप वार्ता गर्ने तयारी छ ।

आफन्तले सरकारको ज्यादतीका कारण गणेशले आत्मदाह गरेको भन्दै आन्दोलन थालेका छन् । गणेशले बिहीबार काठमाडौं महानगर प्रहरी र ट्राफिक प्रहरीसँगको विवाद र चरम ज्याद्धतीपछि आत्मदाह गर्नुभएको तथ्य उजागर भइसकेको छ । रास्वपाका बरिष्ठ नेता बालेन्द्र शाह (बालेन) नेतृत्वको सरकारले नागरिकमाथि चरम दमन गरेर आफ्नो सत्ता यात्रा सुरु गरेपछि चरम निराशा छाएको छ । यही कारण गणेशले आत्मदाह गरेको भन्दै नागरिक आक्रोश बढेपछि सरकार रातारात शव नै उठाएर अन्यत्र पठाउने काममा लागेको हो ।