काठमाडौं, असार २७। दैलेखको कर्णाली राजमार्गमा भएको सवारी दुर्घटनापछि कर्णाली नदीमा बेपत्ता भएका गाडीका चालक ९ दिनपछि मृत अवस्थामा फेला परेका छन्।
प्रहरीका अनुसार असार १८ गते सुर्खेतबाट कालीकोटका लागि छुटेको कर्णाली प्रदेश ०२००१ ख १०५५ नम्बरको यात्रुवाहक गाडी दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका–७ स्थित साङ्गतेडा क्षेत्रमा सडकबाट करिब ४ सय मिटर तल कर्णाली नदीमा खसेर बेपत्ता भएको थियो।
दुर्घटनापछि बेपत्ता रहेका चालक सुर्खेत पञ्चपुरी नगरपालिका–८ माझीगाउँ निवासी तुलाराम सुवेदीको शव शनिबार नदी किनारमा फेला परेको प्रहरीले जनाएको छ। शवको सनाखत गरी आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको छ।
यसअघि दुर्घटनामा बेपत्ता भएकी कालीकोटकी सिर्जना खड्का तथा अर्का यात्रु जेखे तिरुवाको शव पनि छुट्टाछुट्टै स्थानबाट फेला परिसकेको थियो।
दुर्घटनापछि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र स्थानीयवासीले संयुक्त रूपमा निरन्तर खोजी तथा उद्धार अभियान सञ्चालन गर्दै आएका छन्। घटनामा बेपत्ता भएका सहचालक रामप्रसाद सुवेदीको खोजी कार्य भने अझै जारी रहेको प्रहरीले जनाएको छ।













प्रतिक्रिया दिनुहोस्