काठमाडौं, असार २८ । नेपालले एसीसी महिला यू–१९ प्रिमियर कपमा लगातार दोस्रो जित निकालेको छ ।
आइतबार मलेसियाको यूएसडी यूकेएम ओभलमा नेपालले सिंगापुरलाई १५१ रन अन्तरले पराजित गरेको हो । जितसँगै सूमह ‘डी’को नेपालले चार अंक जोडेको छ भने दुवै खेलमा पराजित सिंगापुर अंकविहीन छ ।
नेपालले प्रस्तुत गरेको २०० रनको लक्ष्य पछ्याएको सिंगापुरले २० ओभर नै ब्याटिङ गरे पनि आठ विकेट गुमाएर ४८ रनमा समेटियो । सिंगापुरका लागि अंकिता वर्षा राजले सर्वाधिक १९ रनको योगदान गरिन् । अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।
खेलमा नेपालका लागि अनु कडायतले तीन तथा मनिषा उपाध्याय र रिया शर्माले दुई–दुई विकेट लिए भने कप्तान सोनी पाख्रिनले एक विकेट लिइन। त्यसअघि टस जितेर ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा कुनै पनि विकेट नगुमाइ १९९ रनको योगफल तयार पारेको थियो ।
नेपालका लागि साना प्रवीनले ७० बलमा १३ चौकाको मद्दतले सर्वाधिक ९८ रनको योगदान गरिन् । यसैगरी, सावित्री धामीले ५३ बलमा १३ चौकासहित ७८ रन जोडिन् ।
पहिलो खेलमा नेपालले कतारलाई १०५ रनले हराउँदा सिंंगापुर हङकङसँग तीन विकेटले पराजित भएको थियो । अब नेपालले समूह चरणको अन्तिम खेल मंगलबार हङकङसँग प्रतिस्पर्धा गर्नेछ ।













प्रतिक्रिया दिनुहोस्