काठमाडौं, असार २९ । दोलखामा गएको पहिरोमा परी चार महिनाकी एक शिशुको दुःखद निधन भएको छ भने उहाँकी आमा गम्भीर घाइते हुनुभएको छ।
जिल्ला प्रहरी कार्यालय दोलखाका सूचना अधिकारी प्रहरी निरीक्षक सन्तोषकुमार खड्काका अनुसार कालिञ्चोक गाउँपालिका–१ क्याङ्पोल क्षेत्रमा शनिबार राति करिब ९ बजे गएको पहिरोमा परी चार महिनाकी एलिना थामीको निधन भएको हो। उहाँकी १९ वर्षीया आमा शर्मिला थामी गम्भीर घाइते हुनुभएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार शर्मिला थामी आफ्नी छोरीलाई लिएर भीमेश्वर नगरपालिका–१ सुस्पास्थित माइतीबाट बोलेरो गाडीमार्फत घर फर्किंदै हुनुहुन्थ्यो। सुनखानी–साङवा सडकखण्डअन्तर्गत क्याङ्पोल–हेलेक्पाथाली क्षेत्रमा पहिरोले सडक अवरुद्ध भएपछि उहाँहरू गाडीबाट ओर्लिएर पैदल हिँड्न थाल्नुभएको थियो। सोही क्रममा माथिबाट खसेको अर्को पहिरोले आमा–छोरीलाई पुरेको थियो।
स्थानीयवासीले तत्काल उद्धार गरी उहाँहरूलाई दोलखास्थित धुलिखेल अस्पतालको शाखा अस्पताल पुर्याएका थिए। अस्पताल पुगेपछि चिकित्सकले शिशु एलिना थामीलाई मृत घोषणा गर्नुभएको थियो।
गम्भीर घाइते शर्मिला थामीलाई प्रारम्भिक उपचारपछि थप उपचारका लागि काठमाडौं रिफर गरिएको प्रहरीले जनाएको छ।
अविरल वर्षासँगै पहाडी जिल्लामा पहिरोको जोखिम बढेकाले जोखिमयुक्त सडक र बस्तीमा आवतजावत गर्दा उच्च सतर्कता अपनाउन सम्बन्धित निकायले सर्वसाधारणसँग आग्रह गरेको छ।













प्रतिक्रिया दिनुहोस्