जनता टाइम्स

२९ असार २०८३, सोमबार १७:३३

मिडिया हाउसको गेटमा गाडी पार्किङ प्रकरण : संलग्नमाथि कारबाही गर्न रास्वपाको सरकारलाई ध्यानाकर्षण


काठमाडौं, २९ असार। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सञ्चारगृहहरूको गेटमा गाडी पार्किङ गरी अवरोध सिर्जना गरिएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। पार्टीले घटनामा संलग्न व्यक्तिहरूको तत्काल पहिचान गरी कानुनबमोजिम कारबाही गर्न सरकारसँग माग गरेको छ।

रास्वपाका महामन्त्री विपिनकुमार आचार्यले आइतबार जारी गर्नुभएको विज्ञप्तिमा स्वतन्त्र, निष्पक्ष र भयरहित पत्रकारिता लोकतन्त्रको आधारस्तम्भ भएको उल्लेख गर्दै प्रेस स्वतन्त्रतामाथि कुनै पनि प्रकारको हस्तक्षेप स्वीकार्य नहुने स्पष्ट पार्नुभएको छ।

उहाँले सञ्चारमाध्यम र सञ्चारकर्मीलाई मनोवैज्ञानिक दबाबमा पार्ने, त्रास सिर्जना गर्ने वा निर्भीक रूपमा समाचार सम्प्रेषण गर्ने वातावरणमा अवरोध पुर्‍याउने उद्देश्यले भएका यस्ता गतिविधि लोकतान्त्रिक मूल्य–मान्यता विपरीत रहेको बताउनुभएको छ।

रास्वपाले नेपाल सरकार, गृह मन्त्रालय तथा सम्बन्धित सुरक्षा निकायसँग घटनाको तत्काल निष्पक्ष र सत्यतथ्य छानबिन गर्न, सञ्चारगृहहरूको भौतिक तथा मनोवैज्ञानिक सुरक्षा सुनिश्चित गर्न र संलग्न जोसुकै भए पनि कानुनी कारबाही गर्न आग्रह गरेको छ।

विज्ञप्तिमा रास्वपा पूर्ण प्रेस स्वतन्त्रता, नागरिकको सुसूचित हुने मौलिक अधिकार तथा स्वतन्त्र पत्रकारिताको पक्षमा सधैं दृढतापूर्वक उभिने प्रतिबद्धता दोहोर्‍याइएको छ।

पार्टीले कुनै पनि बहानामा सूचना तथा सञ्चार स्वतन्त्रता हनन गर्ने, सञ्चारगृहमा त्रासको वातावरण सिर्जना गर्ने वा लोकतन्त्रको चौथो अंगलाई कमजोर बनाउने कुनै पनि गतिविधि स्वीकार्य नहुने स्पष्ट पारेको छ।

साथै, सम्पूर्ण सञ्चारकर्मीलाई कुनै पनि दबाब वा त्रासमा नपरी सत्यतथ्यमा आधारित पत्रकारितालाई निरन्तरता दिन आग्रह गर्दै रास्वपाले प्रेस स्वतन्त्रताको रक्षाका लागि आफू सधैं साथमा रहने प्रतिबद्धता व्यक्त गरेको छ।