जनता टाइम्स

२९ असार २०८३, सोमबार २०:४२

‘प्रायोजित हर्कतले स्वतन्त्र प्रेसलाई तर्साउन सकिँदैन’ : कांग्रेस महामन्त्री प्रदीप पौडेल


काठमाडौं,  असार २९ । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले विभिन्न सञ्चारगृहको प्रवेशद्वारमा सवारीसाधन पार्किङ गरी अवरोध सिर्जना गरिएको घटनाको कडा आलोचना गर्दै स्वतन्त्र प्रेसलाई तर्साउने कुनै पनि प्रयास सफल नहुने बताउनुभएको छ।

सोमबार सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै महामन्त्री पौडेलले सञ्चारगृहअगाडि गरिएको अवरोधलाई **‘निन्दनीय, अराजक र सस्तो स्टन्ट’**को संज्ञा दिनुभएको हो।

उहाँले राज्यको दायित्व नागरिकका समस्या दीर्घकालीन, व्यावहारिक र न्यायोचित ढंगले समाधान गर्नु भएको उल्लेख गर्दै असफलता ढाकछोप गर्न अराजक गतिविधिको संरक्षण गर्नु स्वीकार्य नहुने बताउनुभयो।

“स्वतन्त्र प्रेस र लोकतान्त्रिक शक्तिहरूलाई यस्ता प्रायोजित अवरोध र हर्कतले तर्साउन सकिन्छ भन्ने भ्रम कसैले पाल्नु हुँदैन। राज्यशक्तिको दुरुपयोग गरेर गरिएको यस्तो हर्कतबारे सम्बन्धित निकायले तत्काल जवाफ दिनुपर्छ,” उहाँले लेख्नुभएको छ।

महामन्त्री पौडेलले केही दिनअघि पार्किङ विवादकै क्रममा मुगुका गणेश नेपालीले आत्मदाह गरेको घटनालाई स्मरण गर्दै त्यसबाट उठेका गम्भीर प्रश्नको जवाफ दिनुको सट्टा सरकारले उल्टै सञ्चारगृहअगाडि गाडी पार्किङ गरेर सन्देश दिन खोजेको आरोप लगाउनुभयो।

उहाँका अनुसार नागरिक र सञ्चारमाध्यमले उठाएका प्रश्नको जवाफ दिनुपर्ने बेला राज्य संयन्त्रकै आडमा गरिएको यस्तो गतिविधिले सरकारको नियत र कार्यशैली दुवै उजागर गरेको छ।

सोमबार बिहान कान्तिपुर टेलिभिजन, हिमालय टेलिभिजन र अनलाइनखबरका कार्यालय प्रवेशद्वारमा शंकास्पद रूपमा सवारीसाधन पार्किङ गरिएपछि उक्त घटनाको चौतर्फी आलोचना भइरहेको छ। विभिन्न राजनीतिक दल, सञ्चार संस्था तथा संसदीय समितिले घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कारबाही गर्न सरकारसँग माग गरेका छन्।