जनता टाइम्स

२९ असार २०८३, सोमबार २०:५२

अनलाइनखबरको गेटमा पार्किङ गरिएको गाडी आँखा क्लिनिक सञ्चालकको नाममा, फोनमा पत्रकारलाई धम्की


काठमाडौं,  असार २९ । सोमबार बिहान अनलाइनखबरको कार्यालयको मुख्य गेट अगाडि पार्किङ गरिएको शंकास्पद गाडी काठमाडौंको गोकर्णेश्वरस्थित एक आँखा क्लिनिकका सञ्चालकको नाममा दर्ता रहेको खुलेको छ।

बा १२ च ८५४५ नम्बरको उक्त गाडी यातायात व्यवस्था कार्यालयको अभिलेखअनुसार गोकर्णेश्वर–९, भगवतीस्थान निवासी सुनिल पौडेलको नाममा दर्ता रहेको देखिएको छ। उहाँले सोही स्थानमा शंखडोल आई क्लिनिक एन्ड अप्टिकल हाउस सञ्चालन गर्दै आउनुभएको छ।

अनलाइनखबरका अनुसार सम्पर्क गर्दा पौडेलले गाडी आफ्नै नाममा भए पनि आफूले नचलाउने र अर्को व्यक्तिले प्रयोग गरिरहेको बताउनुभएको थियो। उहाँले त्यसपछि अर्को मोबाइल नम्बर उपलब्ध गराउँदै सम्बन्धित व्यक्तिसँग कुरा गर्न आग्रह गर्नुभएको थियो।

उक्त नम्बरमा सम्पर्क गर्दा फोन उठाउने व्यक्तिले आफ्नो परिचय खुलाउन अस्वीकार गर्दै सञ्चारकर्मीलाई उल्टै धम्कीपूर्ण शैलीमा प्रतिक्रिया दिएका थिए। उनले “तपाईंको गेटमा गाडी पार्किङ गर्दा कसरी शंकास्पद भयो ?” भन्दै प्रश्न उठाएका थिए भने समाचारप्रति आपत्ति जनाउँदै आक्रोश व्यक्त गरेका थिए।

अनलाइनखबरका अनुसार उक्त नम्बर सुजन पौडेल नामबाट प्रयोग भइरहेको देखिएको छ। स्थानीय स्रोतका अनुसार उनी सुनिल पौडेलका सहोदर दाजु हुन्।

सोमबार बिहान अनलाइनखबर, कान्तिपुर पब्लिकेसन्स र हिमालय टेलिभिजनलगायत सञ्चारगृहका मुख्य प्रवेशद्वार अगाडि एकै प्रकृतिका सवारीसाधन पार्किङ गरिएपछि प्रेस स्वतन्त्रता र सञ्चारकर्मीको सुरक्षाबारे व्यापक चासो व्यक्त भएको छ।

यस घटनापछि विभिन्न राजनीतिक दल, नेपाल पत्रकार महासंघ तथा प्रतिनिधिसभाको कानुन, न्याय तथा मानवअधिकार समितिले घटनाको निष्पक्ष छानबिन गरी संलग्न व्यक्तिमाथि कानुनी कारबाही गर्न सरकारसँग माग गरेका छन्। प्रहरीले घटनाबारे अनुसन्धान जारी रहेको जनाएको छ।