जनता टाइम्स

३० असार २०८३, मंगलवार ०८:३८

पूर्वी नवलपरासीको गैंडाकोटका बस्तीमा बाढी.


काठमाडौं,असार ३०  ।  निरन्तरको वर्षाले पूर्वी नवलपरासीको गैंडाकोट क्षेत्रका बस्ती डुबानमा परेका छन् । गैंडाकोट नगरपालिका वडा नम्बर १ को प्रगति टोल, वडा नम्बर ४ को झापर्दी टोल, बेल्डिहा लगायतका बस्ती डुबानमा परेका छन् ।स्थानीयका अनुसार दर्जनौं घरमा बाढी पसेको छ । गैंडाकोट ४ का डिल्लीराज घिमिरेले भन्नुभयो ‘म यहाँ बसोबास गरेको करिब ५५ वर्ष पुरा भयो तर यतिको पानी आएको थिएन, बाढी व्यापक आएको छ ।’प्रहरीका अनुसार बेल्डिहामा ९ जनाको परिवार बिस्थापित नै भएको छ ।यसैबीच डुबान प्रभावित बस्तीका बासिन्दालाई जनप्रतिनिधिहरुको सहयोगमा सशस्त्र प्रहरीले गएराति उद्धार गरेको छ । डुबानमा परेका स्थानीयवासीलाई सशस्त्र प्रहरी बल नेपाल नं. ३१ गुल्म (पूर्वी नवलपरासी) को टोलीले उद्धार गरी सुरक्षित स्थानमा स्थानान्तरण गरेको हो ।
निरन्तर वर्षाका कारण नदी तथा खोलामा पानीको सतह बढ्दै गएकाले उच्च सतर्कता अपनाउन सम्बन्धित निकायले आग्रह गरेका छन् । चितवनको भरतपुर महानगरपालिका ११ का पनि विभिन्न ठाउँ जलमग्न भएका छन् ।