जनता टाइम्स

३१ असार २०८३, बुधबार ०७:४७

रास्वपाभित्र असन्तुष्टि चुलियो, सरकारको कार्यशैली विवादमा


काठमाडौं,  असार ३१ । सरकारका पछिल्ला निर्णय र कार्यशैलीलाई लिएर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र असन्तुष्टि चुलिँदै गएको छ। विशेषगरी सुकुम्बासी व्यवस्थापन र सञ्चारगृह तथा विभिन्न स्थानमा शंकास्पद रूपमा सवारीसाधन पार्किङ गरिएको घटनापछि पार्टीको संस्थापन पक्ष र नेतृत्वबीच मतभेद खुला रूपमा देखिन थालेको हो।

पार्टीका केही सांसद र नेताहरूले सरकारले पर्याप्त तयारी र आन्तरिक परामर्शबिनै निर्णय गरेको भन्दै असन्तुष्टि जनाएका छन्। नदी किनारका सुकुम्बासीलाई हटाएर कीर्तिपुरस्थित होल्डिङ सेन्टरमा राखिएको निर्णयपछि त्यही स्थान बाढीको चपेटामा परेपछि सरकारको व्यवस्थापन क्षमतामाथि प्रश्न उठेको छ।

रास्वपाकी सचेतक क्रान्तिशिखा धितालले पार्टीको घोषणापत्रअनुसार सुकुम्बासी व्यवस्थापन हुन नसकेको टिप्पणी गर्दै अस्थायी आश्रयस्थलमै नागरिक थप पीडित बन्नु राज्यको कमजोरी भएको बताउनुभएको छ।

कीर्तिपुरस्थित होल्डिङ सेन्टरमा पुगेका जेन–जी अभियन्ता माजिद अन्सारी, सरिश्मा थापा र नरेन्द्र खड्कामाथि भएको प्रहरी हस्तक्षेपको विषयमा पनि रास्वपाभित्र आलोचना भएको छ। सांसद सुलभ खरेलले संसदीय समितिमा उक्त घटनाबारे नेपाल प्रहरीसँग औपचारिक माफी माग्नुपर्ने माग गर्दै फरक मत राख्ने नागरिकमाथि बल प्रयोग स्वीकार्य नहुने धारणा राख्नुभएको थियो।

यता, सञ्चारगृह, प्रमुख विपक्षी दलका नेताको निवास तथा अन्य स्थानमा शंकास्पद रूपमा निजी सवारीसाधन पार्किङ गरिएपछि रास्वपाले औपचारिक विज्ञप्तिमार्फत घटनाको भर्त्सना गरेको छ। पार्टीले प्रेस स्वतन्त्रतामाथि हस्तक्षेप गर्ने तथा सञ्चारगृहमा त्रास सिर्जना गर्ने कुनै पनि गतिविधि स्वीकार्य नहुने स्पष्ट पारेको छ।

सभापति रवि लामिछानेले पनि संसद् भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै उक्त घटना अस्वाभाविक रहेको बताउँदै, त्यसमा रास्वपाकै कार्यकर्ता संलग्न रहेको पुष्टि भए कानुन र पार्टी विधानअनुसार कारबाही गरिने स्पष्ट पार्नुभएको छ।

महामन्त्री विपिन आचार्यले जारी गर्नुभएको विज्ञप्तिमा स्वतन्त्र पत्रकारिता लोकतन्त्रको आधार भएकाले सञ्चारमाध्यमलाई भयमुक्त वातावरणमा काम गर्न दिनुपर्ने उल्लेख गरिएको छ। घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कानुनी कारबाही गर्न पनि सरकारसँग माग गरिएको छ।

यस्तै, रास्वपाका सचेतक प्रकाशचन्द्र परियारले संसद्मा बोल्दै नेपाली सञ्चारमाध्यमले विगतमा निरंकुश शासनका दबाब पनि सामना गरेको स्मरण गराउँदै दुई–चारवटा गाडी तेर्स्याएर प्रेसलाई तर्साउन नसकिने टिप्पणी गर्नुभएको थियो।

सरकारका पछिल्ला गतिविधिलाई लिएर रास्वपाभित्र सार्वजनिक रूपमा फरक–फरक धारणा आउन थालेपछि पार्टीभित्र नीति, निर्णय प्रक्रिया र सरकार सञ्चालन शैलीबारे गम्भीर बहस सुरु भएको राजनीतिक वृत्तमा चर्चा हुन थालेको छ।